पेट्रोलियम पदार्थको मूल्य पुन: बढेको छ । नेपाल आयल निगमले गएराति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल, मट्टीतेल र आन्तरिक हवाइ इन्धनको मूल्य प्रतिलिटर २–२ रुपैयाँ तथा अन्तरराष्ट्रिय हवाई इन्धनको मूल्य २० डलर प्रतिकिलोलिटरले बढाएको हो ।
मूल्य बढेपछि काठमाण्डौ उपत्यकामा पेट्रोल प्रतिलिटर एक सय २७ रुपैयाँ, डिजेल तथा मट्टीतेल एक सय १० रुपैयाँ र आन्तरिक हवाई इन्धन ८२ रुपैयाँ प्रतिलिटर पुगेको छ । त्यस्तै, अन्तरराष्ट्रिय हवाई इन्धनको मूल्य प्रतिकिलोलिटर सात सय ३५ डलर पुगेको छ ।
अन्तरराष्ट्रिय बजारमा भाउ निरन्तर बढेकाले नेपाली बजारमा पनि बढेको नेपाल आयल निगमका प्रवक्ता विनितमणि उपाध्यायले बताए । २०७१ मा स्वचालित मूल्य प्रणाली लागू गरेर लगातार ६ वर्ष नाफा कमाएको निगम पुनः घाटामा जान लागेको हो ।