असार १०, २०७८ बिहिबार

आजदेखि (बिहीबार) अन्तरराष्ट्रिय उडान सुरु भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका अनुसार आज नेपाल एयरलाइन्सले कतारको दोहा र टर्कीस एयरलाइन्सले इस्तानबुलबाट उडान भर्ने छ ।

मन्त्रालयले जारी गरेको तालिकाअनुसार २५ जुनमा नेपाल एयरलाइन्सले जापान उडान भर्ने छ भने २६ जुनमा कतार एयरवेजको जहाज दोहाबाट काठमाडौं आउने छ ।

यस्तै असार १७ गतेदेखि नियमित आन्तरिक उडान सुरु गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्ले आन्तरिक र अन्तरराष्ट्रिय हवाई उडान खोल्ने निर्णय गरेसँगै बुधबार नागरिक उड्डयन मन्त्रालयले सूचना जारी गर्दै यही असार १७ गतेदेखि नियमित आन्तरिक उडान सुरु गर्ने निर्णय गरेको हो ।

मन्त्रालयका सूचना अधिकारी प्रेम सुवेदीद्वारा जारी सूचनामा १ जुलाई अर्थात् १७ असारबाट आन्तरिकतर्फका उडान नियमित हुने उल्लेख छ । असार १७ गतेबाट कुल उडान सङ्ख्याको ५० प्रतिशतमा नबढ्ने गरी आन्तरिक हवाई उडान सञ्चालन गर्न दिइएको मन्त्रालयले जनाएको छ ।