असार १०, २०७८ बिहिबार

काठमाडौ । एएफसी महिला एसिया कप छनोटको 'ड्र' सार्वजनिक भएको छ ।

आज बिहिबार मलेसियामा सम्पन्न भएको 'ड्र' अनुसार नेपाल रहेको समूहमा एफमा जम्मा तीन टोली रहेका छन् । यो समूहमा नेपालसहित फिलिपिन्स र हङकङ परेका छन् ।

त्यस्तै एसियन कपको छनोट नेपालमा आयोजना गर्ने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा)ले जनाए अनुसार नेपालले समूह एफको छनोट खेलको आयोजना गर्न तयारी रहेको छ ।

एसियाका २८ देश प्रतियोगिताको ड्रमा समावेश थिए । चार समूहमा चार देश र बाँकी चार समूहमा तीन देश समावेश गर्दै समूह तालिकाको टुङ्गो लागेको हो ।

समूह विजेता टोली भारतमा अर्को वर्ष हुने एएफसी वुमन्स एसिया कपमा छनोट हुनेछ । प्रतियोगिता जनवरी २० देखि फेब्रुअरी ६ सम्म सञ्चालन हुने तय भएको छ ।

साविक विजेता जापान, सन् २०१८ को उपविजेता अष्ट्रेलिया र तेस्रो स्थानको चीन सहित आयोजक भारत प्रतियोगितामा छनोट भईसकेका छन् ।