असार १०, २०७८ बिहिबार

वीरगञ्ज महानगरपालिकाको नवौँ अधिवेशन आज सम्पन्न भएको छ । अधिवेशनमा महानगरले आगामी आर्थिक वर्षका लागि ३ अर्ब ५५ करोड ३९ लाख ३७ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको हो ।

महानगरको नवौँ अधिवेशनले आर्थिक वर्ष २०७८ र ०७९ का लागि ल्याएको बजेटमा चालूतर्फ १ अर्ब ८६ करोड ३५ लाख ४२ हजार ९ सय, पुँजीगततर्फ १ अर्ब ६२ करोड ३३ लाख ३० हजार १ सय र वित्तीय समानीकरणतर्फ ६ करोड ७० लाख ६४ हजार विनियोजन गरिएको छ । महानगरले कुल खर्च मध्ये आर्थिक विकास क्षेत्रमा १० करोड ८ लाख ३० हजार, सामाजिक विकास क्षेत्रमा १ अर्ब १५ करोड ५८ लाख ७२ हजार, पूर्वाधार विकास क्षेत्रमा १ अर्ब ३५ करोड ६६ लाख १८ हजार, सुशासनको क्षेत्र तर्फ १३ करोड ३२ लाख ७४ हजार र कार्यालयतर्फ ८० करोड ७३ लाख ४३ हजार छुट्याएको छ ।

वीरगञ्ज महानगरका प्रमुख विजयकुमार सरावगीको अध्यक्षतामा भएको समारोहमा उपप्रमुख सुश्री शान्ति कार्कीले बजेट प्रस्तुत गेकी थिइन् । कार्यक्रमको सहजीकरण प्रमुख प्रशासकीय अधिकृत प्रदीप निरौलाले गरेका थिए ।