मोरङको सुनवर्षी नगरपालिकाका स्थानीय पत्रकार वीरेन्द्रकुमार शाहको नाम समाजसेवीका रूपमा पनि परिचित छ । उनले अँगालेको पेशा पत्रकारिता हो । तर उनी राजनीतिमा पनि सक्रिय छन् ।
छ कक्षामा पढ्दापढ्दै नेपाली काँग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघबाट आफ्नो राजनीतिक यात्रा तय गरेका शाह हाल विभिन्न सामाजिक संस्थाहरूमा आवद्ध रहेका छन् । सानैदेखि वाक् कलामा कुशल शाहले स्थानीय तहको निर्वाचनमा आफूलाई प्रवेश गराएर आफ्नो राजनीतिको नयाँ गन्तव्य तय गरे । सुनवर्षी नगरपालिकाको मेयर पदका लागि उम्मेदवारी दिन स्थानीयहरूले पत्रकार शाहलाई सुझावसहित आग्रह गरेका छन् । पत्रकार शाहले बन्दाबन्दीको अवधिमा मात्र नभई अन्य समयमा समेत स्वास्थ्य समस्या भएकाहरूका लागि एम्बुलेन्स व्यवस्थापनदेखि अस्पताल भर्ना, रगतको व्यवस्था, चिकित्सकसँगको सल्लाहसहितको कार्यमा आफ्नो तत्परता देखाउँदै आइरहेका छन् । उनले उपचारका लागि आर्थिक अभाव भएकाहरूका लागि आर्थिक सहयोगसमेत उपलब्ध गराएका छन् ।
त्यस्तै लकडाउनले गर्दा सुनवर्षी नगरक्षेत्रभित्र रोजगारी गुमाएका वा रोजगार नपाएकाहरूका लागि 'सुनवर्षी सहयोग अभियान' नामक अभियान चलाएर घर–घरमै पुगेर खाद्यान्न सामग्री वितरण गरे । अहिले पनि उनी सो अभियानमा साथिहरूसँगै सक्रिय रहेका छन् ।
समाज सेवाप्रति साहको सकृयता, सहयोगी भावना र समाजका लागि केही गर्ने दृढ इच्छा शक्ति देखेर अधिकांश सुनवर्षीबासीले साहलाई मेयर पदमा उमेदवारी दिन सुझाव सहित आग्रह गरेका छन् ।
सानै उमेरदेखि रेडियोमार्फत मिडियामा प्रवेश गरेका साह करिब १० वर्ष देखि मिडिया क्षेत्रमा सक्रिय रहेका छन् । हालै सम्पन्न नेपाल पत्रकार महासंघ मोरङको निर्वाचनमा समेत उनी लोकप्रीय भोटका साथ कार्यकारिणी सदस्यमा निर्वाचित भएका छन् । बिराटनगरबाट सञ्चालित हिपमत मिडिया हाउस प्रालिका अध्यक्षसमेत रहेका पत्रकार साह एभिन्यूज टेलिभिजनको जिल्ला प्रमुखसमेत रहेका छन् ।
सुनवर्षी नगरपालिकाको बालबालिकादेखि लिएर युवा, वृद्ध, महिलासमेत हरेक जातजातिका सबै उमेर समूहका व्यक्तिहरूमाझ सामाजिक कार्य र सहयोगी मनका कारण उनी लोकप्रीय बनेका छन् । वीरेन्द्र सानैदेखि आफ्नो क्षेत्रमा दुःखमा परेका बिरामीहरूलाई निःशुल्क उपचार गराउनेदेखि आर्थिक सहयोगसहित अन्य सहयोगमा समेत अग्रस्थानमा उभिएका छन् ।
कक्षा ६ मा पढ्दा नै नेपाली काँग्रेसका नेताहरूले उनलाई काँग्रेसको बाटामा डोर्याएका थिए ।
कक्षा –६ मा पढ्दा सन्दह बाल क्लबका अध्यक्ष रहेका वीरेन्द्र सामाजिक कार्यमा निकै सक्रिय थिए । प्रखर वक्ताका रूपमा सानैदेखि आफ्नो छवि बनाएका वीरेन्द्रलाई नेपाली काँग्रेसका नेताहरूले अमरदह स्थित श्री वीरेन्द्र सार्वजनिक मा.वि.को नेविसंघ सचिवका रूपमा मनोनित गरे ।
वीरेन्द्र नेविसंघमा रहँदा विद्यार्थीहरूको असल नेताका रूपमा आफ्नो छवि बनाउन सफल भए । उनी उमेरले सानै भए पनि क्याम्पस पढ्ने विद्यार्थीहरूको समस्यासमेत समाधान गरे । कक्षा ८ मा पढ्दा नै नेविसंघ मोरङ क्षेत्र २ को क्षेत्रिय सचिवमा समेत निर्वाचित भए । आफ्नो विचार राख्ने कुशलता र भाषणले गर्दा त्यतिबेलै लोकप्रियता पाएका वीरेन्द्र कक्षा ९ मा पढ्दा नेपाली काँग्रेस अमरदहको क्रियाशील सदस्यको मान्यता पाए । किशोरावस्थामा नै पार्टीको क्रियाशील सदस्यता पाएका वीरेन्द्र कक्षा १० मा पढ्दा नेपाली काँग्रेस अमरदह गाविसको सह-सचिवका रूपमा मनोनित भए । स्थानीय राजनीतिमा आफ्नो प्रभाव जमाउन सफल रहेका वीरेन्द्र सह-सचिव भए पनि सचिवसरह नै हरेक कार्यक्रम सञ्चालन गर्ने तथा नेता कार्यकर्ता र जनताको मन जित्न सफल भए । त्यतिबेलादेखि नै उनको लोकप्रियता बढ्दै गएको हो ।
गत स्थानीय निर्वाचनमा समेत वीरेन्द्रले सुनवर्षी नगरपालिका वडा नं. २ बाट वडाअध्यक्षका रूपमा पार्टीभित्र आफ्नो दाबी पेश गरेका गरेका थिए । पार्टीमा अन्य ६ जनासहित ७ जनाको नाम वडाअध्यक्षका रूपमा सिफारिस हुँदा वीरेन्द्रको नाम १ नम्बरमा थियो । तर, पछि पार्टीका अग्रज नेता तथा कार्यकर्ताहरूले 'अगामी निर्वाचनमा तिमी उम्मेदवारी दिनु, यसपालि आफ्नो उमेदवारी फिर्ता लिऊ' भनेर विशेष आग्रह गर्दा वीरेन्द्रले आफ्नो दाबी फिर्ता लिएका थिए ।
आफ्नो उम्मेदवारी फिर्ता लिए पनि वीरेन्द्रले काँग्रेसका उम्मेदवारहरूलाई जिताउन अहोरात्र मिहेनत गरे । प्रायः नगरक्षेत्रमा भएका हरेक चुनावी कार्यक्रम वीरेन्द्रले नै सञ्चालन गरेका थिए । घरदैलोसहित हरेक कार्यक्रममा उनी सहभागी हुन्थे । प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमासमेत उनले सकृयताका साथ आफ्नो उतरदायित्व निर्वाह गरे ।
वीरेन्द्रकुमार साह राजनीतिक, सामाजिक, पत्रकारितासहित हरेक क्षेत्रमा सक्रिय छन् । दर्जनौ संस्थामा आबद्ध रहेका छन् । उनको कार्यकौशलता सामाजिक, साँस्कृतिक र विकासशील भावनाले नै उनलाई लोकप्रीय बनाएको छ ।