एजेन्सी । १६औं संस्करणको युरो कप फुटबल प्रतियोगितामा इटाली क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।
आइतबार बिहान सम्पन्न भएको अन्तिम १६ को खेलमा अस्ट्रियामाथि २–१ गोलको जित निकाल्दै इटाली अघिल्लो चरणमा प्रवेश गरेको हो ।
इंग्ल्याण्डको वेम्बली स्टेडियममा खेलको अतिरिक्त समयमा अस्ट्रियालाई हराउँदै इटालीले अन्तिम आठमा स्थान पक्का गरेको हो । र्निधारित ९० मिनेटको समय गोरहित बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो । अतिरिक्त समयमा इटालीलाई जिताउन फेडरिको चिसा र माटियो पेसिनाले १/१ गोल गरे । अस्ट्रियाका सासा कलाडिज्कले एक गोल फर्काए ।
९५औं मिनेटमा चिसाले गोल गर्दै इटालीलाई सुरुवाती अग्रता दिलाए । खेलको १०५औं मिनेटमा पेसिनाले गोल गर्दै इटालीको अग्रता दोब्बर बनाए ।
त्यस्छ११४औं मिनेटमा अस्ट्रियाका सासाले गोल अष्ट्रियालाई खेलमा फर्काउने प्रयास गरे । तर बाँकी समय थप गोल नहुदा इटाली २-१ गोल अन्तरले विजयी भयो ।
उक्त जितसँगै इटाली क्वाटरफाइनल पुग्ने दोस्रो टिम बनेको छ । यसअघि वेल्सलाई हराउँदै डेनमार्कले अन्तिम आठमा स्थान पक्का गरेको थियो । यता, अस्ट्रिया भने अन्तिम १६ बाटै बाहिरिएको छ ।
यो जित सँगै इटाली अन्तर्राष्ट्रिय खेलमा लगातार ३१ खेलमा अपराजित रहने पहिलो टिम बन्दै कीर्तिमान राखेको छ ।