एजेन्सी । १६औं संस्करणको युरो कप फुटबल प्रतियोगितामा डेनमार्कले अन्तिम आठमा आफ्नो स्थान पक्का गरेको छ ।
शनिबार राति भएको अन्तिम १६ को खेलमा वेल्समाथि ४–० गोलको शानदार जितसँगै डेनमार्क क्वाटरफाइनलमा प्रवेश गरेको हो ।
नेदरल्यान्ड्सको जोहान क्रुफ एरिनामा डेनमार्कलाई जिताउन कास्पर डोल्बर्गले २ गोल गरे भने जोकिम माहले र मार्टिन ब्रेथवेटले समान १/१ गोल गरे । पहिलो हाफमा १-० गोलको अग्रता बनाएको डेनमार्कले दोस्रो हाफमा थप ३ गोल गर्न सफल भयो ।
खेलको २७औं मिनेटमा डोल्बर्गले गोल गर्दै डेनमार्कलाई पहिलो हाफभरि १–० गोलको अग्रता दिलाए । त्यस्तै दोस्रो हाफको खेलको ४८औं मिनेटमा उनले दोस्रो गोल गर्दै डेनमार्कको अग्रता दोब्बर बनाए ।
८८औं मिनेटमा माहलेले डेनमार्कलाई ३–० गोलको अग्रता दिलाए । त्यसपछि खेलको् ९०औं मिनेटमा भने वेल्स १० खेलाडीमा सीमित बनेको थियो । वेल्सका ह्यारी विल्सनले रातो कार्ड पाएका थिए । र इन्ज्युरी समयमा ब्रेथवेटले गोल गर्दै डेनमार्कलाई ४–० गोलको जित दिलाए ।
उक्त जितसँगै डेनमार्कले क्वाटरफाइनलमा स्थान बनाएको छ । अब डेनमार्कले सेमिफाइनल प्रवेशका लागि नेदरल्यान्ड्स र चेक रिपब्लिकबीचको विजेतासँग खेल्नेछ । यता पराजित वेल्स भने प्रतियोगिताको अन्तिम १६ बाट बाहिरिएको छ ।