बझाङ- कृषि ज्ञान केन्द्रले स्थानीय स्तरमा उत्पादित मकै, आलु र सिमीलाई ब्राण्डिङ गरी जिल्ला बाहिरका बजारमा पठाउने तयारी गर्दैछ ।
साथै आन्तरिक तथा बाह्य पर्यटकको आकर्षक केन्द्र रहेको जिल्लाका केही स्थानीय तहले अब आलु जोनका रूपमा पनि छुट्टै पहिचान पाउने भएका छन् । नेपालको धेरै ठाँउमा अत्याधिक माग रहेको बझाङी आलु र सिमीले बजारमा आफ्नो पहिचान बनाएको छ । स्थानीयस्तरमा उत्पादित मकै, आलु र सिमीलाई ब्राण्डिङ गर्न लागिएको केन्द्रका प्रमुख टेकबहादुर बिष्टले जानकारी दिए ।
जिल्लामा अधिकांश कृषकको मुख्य खेती आलु, सिमी र मकै हो । जिल्लामा मुख्यमन्त्री एकीकृत कृषि तथा पशुपंक्षि विकास कार्यक्रम कार्यान्वयनमा आएको छ । कार्यक्रमअन्तर्गत बुङ्गल नगरपालिकाको वडा-६ को डिन्नु , वडा-१ र २ , जयपृथ्वी नगरपालिकाको पिठालेक, धामीलेक, मष्टाको कोटदेवल तथा दुर्गाथली गाउँपालिकाकोे सैनपसेललाई आलुमा आत्मनिर्भर बनाउन लागिएको उनले बताए । उनले मकै उत्पादन गर्ने क्षेत्रमा २१ लाख बराबरको टिनको बिउ राख्ने भकारी, चार सय थान बिउ सुकाउने पाल र पाँच हाते ट्याक्टर सहयोग गर्ने समेत जानकारी दिए ।
यस्तै जिल्लाको तल्कोट गाउँपालिका वडा नम्बर ६ र ७ लाई अर्गानिक सिमीमा ब्राण्डिङ गरिने भएको छ । कृषि क्षेत्रको विकास र विस्तारले नै किसानको आयआर्जन वृद्धि हुने भएकाले मुलुकको आर्थिक समृद्धिमा समेत टेवा पुग्ने भएको छ । पहिलोपटक जिल्लामा उत्पादन भएको भी भीरमौरीको मह, सिमी, मकै र आलुलगायतका खाद्यान्न सामग्रीहरूलाई अर्को जिल्लासम्म पुर्याउने लक्ष्य लिएको छ ।
यसरी उत्पादित कृषि उपजलाई प्याकेजिङ्ग गर्न र सदरमुकाम चैनपुरमा कोसेली घर निर्माणको लागि १२ लाख विनियोजन गरिएको केन्द्रले जनाएको छ । केन्द्रले आलु प्याकिङका लागि सामग्रीको व्यवस्थापन भइसकेको र आगामी साउन महिनाभित्र आलु बजारमा ल्याउने तयारी रहेको जानकारी दिएको छ । साथै स्थानीय तथा राष्ट्रिय बजारमा रु १ करोड ४४ लाख बराबरको ३५ हजार क्विन्टल आलु निर्यात गरिने समेत केन्द्रले जानकारी दिएको छ ।
आलुजोनको योजना आएपछि लामो समयदेखि परम्परागत रूपमा खेती गर्दै आएका किसानहरूलाई आधुनिक तरिकाले आलु लगाउन सिकाएको थियो । अहिले किसानहरू औधि खुसी छन् । साथै उत्पादनमा अझ अग्रसर हुन थालेका छन् । किसानले उत्पादन गरेको आलुले बजारमा छुट्टै पहिचान बनाउने र यहाँका किसानको जीवनस्तर माथि उठ्ने विश्वास गरिएको छ ।रासस