असार १४, २०७८ सोमबार

सोमालियाको अर्ध स्वायत्त राज्य पन्टल्याण्डमा इस्लामिक बिद्रोही समूह अल–शबाबको सदस्य भएको अभियोगमा २१ जनालाई मृत्युदण्ड दिइएको छ।

गाल्कायोमा रहेको सैनिक अदालतले उनीहरुलाई सजाय सुनाएको हो। उनीहरुलाई गोली प्रहार गरेर मृत्युदण्ड दिइएको हो । मृत्युदण्ड दिइएका सबै पुरुष हुन्।

राज्यको रेडियोका अनुसार मृत्युदण्ड दिइएका मध्ये १८ जनाले एक दशक भन्दा लामो समयदेखि हत्या तथा बम आक्रमणसहितका गतिविधि गरेका थिए।

सोमालियाका विभिन्न क्षेत्रमा यस्तै प्रकारका मृत्युदण्ड दिइएको थियो अल–शबाबका सदस्यहरुलाई। तर पुन्टल्याण्डमा अल–शबाबका यति धेरै सदस्यलाई एक साथ मृत्युदण्ड दिइएको यो पहिलो घटना रहेको बिबिसीले उल्लेख गरेको छ।

पुन्टल्याण्डका अधिकारीहरुले अल–शबाबका सदस्य वा उनीहरुलाई सहयोग गर्नेहरुलाई न्यायको दायरामा ल्याउने बताएका छन्।सोमालियाको स्थायित्वमा इस्लामिक बिद्रोही समूहहरु अझै पनि गम्भीर चुनौतिका रुपमा रहेका छन्।

अल–शबाबले देशको दक्षिणी र मध्य क्षेत्रका भागहरुमा नियन्त्रण कायम गरेको छ। गएको अक्टोबरमा सार्वजनिक भएको एक प्रतिवेदन अनुसार सोमालिया सरकारले भन्दा अल–शबाबले बढि रकम संकलन गरेको छ।

आइतबार २१ अल–शबाब सदस्यहरुलाई मृत्युदण्ड दिइँदै गर्दा बिद्रोही समूहले सोमालियाको अर्को क्षेत्रमा आक्रमण गरेको थियो।

सो आक्रमणमा सैनिकहरु मारिएको दाबी गरिएको छ। मुदुग क्षेत्रको विसिल क्षेत्रमा सो आक्रमण भएको हो। सो आक्रमणमा कम्तीमा २० सैनिक मारिएको दाबी छ। अल–शबाबका लडाकुले आर्मी बेसक्याम्पमा आक्रमण गरेका हुन्।