फागुन १८, २०७७ मंगलबार

गहुँबाली

काठमाडौं : शहरी विकासमन्त्री प्रभु साहले महाशिवरात्रि मेला लगाउन किसानले लगाएको गहुँ बालीमा डोजर लगाउन निर्देशन दिएपछि गहुँबाली नष्ट गर्दै मेला लगाउने तयारी भएको छ । 

रौतहट जिल्लाको मौलपुर गाउँमा आगामी फागुन २७ गते हुने महाशिवरात्रिको उपलक्ष्यमा ठूलो मेला लगाउनका लागि करिब पाँच विघामा लगाइएको गहुँ नष्ट गर्न लगाइएको हो । मन्त्री साहले मेला लगाउने भन्दै कतिपय किसानलाई शुरुमै बाली लगाउन दिएका थिएनन् । किसानहरुलाई जमिन खाली राख्न लगाएका थिए र जसले जबर्जस्ती बाली लगाए उसको खेतमा डोजर लगाएका छन् ।’

राष्ट्रपति विद्यादेवी भण्डारीबाट मेला उद्घाटन गराउने तयारीमा प्रभु साह लागेका छन् । सो मेलामा भारतबाट भोजपुरी सिनेमाका कलाकारहरु समेत ल्याउने तयारी भइरहेको स्थानीयहरुले बताएका छन् । ‘नष्ट भएको बालीको मुआब्जा दिने भनिएको छ । तर त्यो मुआब्जाप्रति किसानहरू सन्तुष्ट छैनन्’ त्यहाँका किसानहरु भन्छन्, ‘एक कट्ठामा चारदेखि पाँच मनको हिसाबले उत्पादन हुन्थ्यो तर कठ्ठाको पच्चिस रुपैयाँ दिने भनेका छन्, हामीलाई निकै मर्का भएको छ । यत्रो मेहनतका साथ खेती लगाएका थियौं तर एउटा मेला लगाउनका लागि बालीमा डोजर लगाएर हामीमाथि अन्याय गरियो ।’