एजेन्सी । १६औं संस्करणको युरो कप फुटबल फुटबल प्रतियोगिता २०२० बाट विश्वविजेता फ्रान्स बाहिरिएको छ ।
मंगलबार बिहान सम्पन्न भएको अन्तिम १६ को खेलमा फ्रान्स स्विट्जरल्यान्डसँग पेनाल्टी सुटआउटमा ४-५ गोलले पराजित हुँदै युरो कपबाट बाहिरिएको हो ।
रोमानियामा भएको खेलको निर्धारित समय ३–३ गोलको बराबरीमा सकिएको थियो । त्यसपछि अतिरिक्त समयमा पनि दुवै टोलीले गोल गर्न नसकेपछि खेल सिधै पेनाल्टी सुटआउटमा धकेलिएको थियो । जसमा स्विट्जरल्यान्ड ५–४ गोलले विजयी हुँदै क्वार्टरफाइनल पुग्न सफल भयो ।
त्यसअघि खेलको १५औं मिनेटमा ह्यारिस स्फेरोभिकले गोल गर्दै स्विट्जरल्यान्डलाई सुरुवाती अग्रता दिलाएका थिए । पहिलो हाफमा १-० गोलको अग्रता बनाएको स्विट्जरल्यान्डले दोस्रो हाफको खेलको ५५औं मिनेटमा पेनाल्टीको मौका पाएको थियो, जसमा रिकार्डो रोड्रिग्वजे असफल बन्दा उसले अग्रता दोब्बर बनाउने मौका खेर फालेको थियो ।
यस्तै खेलको ५७औं मिनेटमा करिम बेन्जेमाले गोल गर्दै फ्रान्सलाई खेलमा फर्काए । त्यसको दुई मिनेट नबित्दै बेन्जेमाले दोस्रो गोल गरेर फ्रान्सलाई अग्रता दिलाए । ७५औं मिनेटमा पल पोग्बाले गोल गरेपछि फ्रान्सले ३–१ गोलको अग्रता बनाएको थियो ।
८१औं मिनेटमा स्विट्जरल्यान्डका स्फेरोभिकले दोस्रो गोल गर्दै टिमलाई खेलमा फर्काउने प्रयास गरे । र ९० औं मिनेटमा मारियो गाभ्रानोभिकले गोल गर्दै स्विट्जरल्यान्डलाई बराबरीमा फर्काए ।
त्यसपछि खेलमा अतिरिक्त समय थपिएको थियो । तर दुवै टोलीले गोल गर्न नसकेपछि खेल टाइब्रेकरमा धकेलियो । जसमा फ्रान्सका स्टार खेलाडी किलियन एम्बाप्पे नै चुक्न पुगेपछि फ्रान्स अन्तिम १६ बाटै बाहिरिएको हो ।
स्विट्जरल्यान्ड भने अघिल्लो चरणमा प्रवेश गरेको छ । अब उसले सेमिफाइनलका लागि स्पेनको सामना गर्ने भएको छ । स्पेन गए राति भएकै अर्को खेलमा क्रोएसियालाई हराउँदै क्वार्टरफाइनल पुगेको हो ।