एजेन्सी । १६औं संस्करणको युरो कप फुटबल प्रतियोगितामा स्पेन क्वाटरफाइनलमा प्रवेश गरेको छ । सोमबार राति भएको अन्तिम १६ को खेलमा क्रोएसियामाथि ५–३ गोल अन्तरको रोमाञ्चक जित हात पार्दै स्पेनले अघिल्लो चरणमा स्थान पक्का गरेको हो ।
डेनमार्कको कोपेनहममा भएको खेलको निर्धारित समय ३–३ गोलको बराबरीमा सकिएपछि थपिएको अतिरिक्त समयमा स्पेनले दुई गोल गर्दै अन्तिम आठमा स्थान बनाएको हो ।
स्पेनले क्रोएसियाको सुरुवाती अग्रता उल्टाउँदै खेलमा अग्रता बनाएको थियो । खेलको २०औं मिनेटमा क्रोएसियाले आत्मघाती गोलमा सुरुवाती अग्रता बनाएको थियो । स्पेनका पेड्रीले आफ्नै पोस्टमा गोल गरेका थिए ।
तर खेलको ३८औं मिनेटमा पाब्लो सराबियाले गोल गर्दै स्पेनलाई बराबरीमा फर्काए । पहिलो हाफ १-१ गोलको बराबरीमा सिकिएको खेल दोस्रो हाफको ५७औं मिनेटमा केसार अज्पिलिकुएटाले गोल गरेपछि स्पेनले अग्रता बनायो । ७८औं मिनेटमा फेरान टोरेसले गोल गर्दै स्पेनलाई ३–१ गोलको अग्रता दिलाए ।
तर ८५औं मिनेटमा मिस्लाभ अर्सिचले र इन्ज्युरी समयमा मारियो पासालिचले गोल गर्दै क्रोएसियालाई बराबरीमा फर्काए । त्यसपछि थपिएको समयमा स्पेनका अल्भारो मोरटा र मिकेल ओयार्जाबालले गोल गरे । मोरटाले १००औं मिनेटमा गोल गर्दा १०३औं मिनेटमा ओयार्जाबालले गोल गरे ।
उक्त जितसँगै स्पेनले क्वाटरफाइनलमा स्विट्जरल्यान्डसँग भेट पक्का गरेको छ ।