असार १५, २०७८ मंगलबार

एजेन्सी । १६औ संस्करणको युरो कप २०२० अन्तर्गत अन्तिम १६ को खेलमा पेनाल्टी मिस गरेपछि फ्रान्सका स्ट्राइकर किलियन एमबाप्पेले माफी मागेका छन् । प्रि–क्वार्टरफाइनलको खेलमा एम्बाप्पे पेनाल्टीमा चुक्दा साविक उपविजेता फ्रान्स प्रतियोगिता बाहिरिएको थियो । 

मंगलबार बिहान सम्पन्र भएको अन्तिम १६ को खेलमा फ्रान्स स्विट्जरल्यान्डसँग पेनाल्टी सुटआउटमा पराजित हुँदै युरो कपबाट आउट भएको हो । रोमानियामा भएको खेलको निर्धारित समय ३–३ गोलको बराबरीमा सकिएको थियो । अतिरिक्त समयमा पनि दुवै टोलीले गोल गर्न नसकेपछि खेल पेनाल्टी सुटआउटमा धकेलिएको थियो । जसमा स्विट्जरल्यान्ड ५–४ गोलले विजयी हुँदै क्वार्टरफाइनल पुग्यो भने फ्रान्स बाहिरिएको हो । 

पेनाल्टीमा फ्रान्सका पल पोग्बा, ओलिभर जिराउड, मार्कुस थुराम र प्रेसनल किम्पेम्बेले गोल गरेका थिए । तर एमबाप्पे भने पेनाल्टीमा गोल गर्न चुके । एमबाप्पेको प्रहार स्विट्जरल्यान्डका गोलकिपर यान सोमेरले बचाए ।

यसै विषयमा एम्बाप्पेले सामाजिक सञ्जालमार्फत समर्थकसँग माफी मागेका हुन् । उनले लेखेका छन्, ‘म त्यो पेनाल्टीको बारेमा माफी चाहन्छु । म टोलीलाई सहयोग गर्न चाहन्थे तर असफल भएँ । पेनाल्टीमा असफल भएपछि मलाई सुत्न धेरै गाह्रो भयो । दुर्भाग्यवश यो खेलको उतार–चढाव हो ।’