एजेन्सी । भारतमा हुने भनिएको यस वर्षको आईसीसी टी–२० विश्वकप यूएई र ओमानमा हुने पक्का भएको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आईसीसीले मंगलबार टी–२० विश्वकप यूएई र ओमानमा सारेको पुष्टि गरेको हो ।
टी–२० विश्वकप अक्टोबर १७ देखि नोभेम्बर १४ सम्म हुने आईसीसीले जनाएको छ । भारतमा कोरोनाको असर बढिरहेकाले भारतीय क्रिकेट कन्ट्रोल बोर्ड बीसीसीआईले यूएईमा सार्ने जनाएको थियो । एक दिन अघि मात्र बीसीसीआईका अध्यक्ष सौरभ गांगुलीले स्वास्थ्य स्थितिलाई ध्यानमा राख्दै विश्वकप यूएईमा सारिएको बताएका थिए ।
टी–२० विश्वकपको आयोजकको रुपमा भने बीसीसीआई नै रहनेछ । खेलहरु यूएईको तीन र ओमानको एक मैदानमा हुनेछन् । यूएईको दुबई, अबुधाबी र शारजहाँ तथा ओमानको ओमान क्रिकेट एकेडेमी ग्राउण्डमा खेल खेलाइनेछ । ८ टिमबीचको पहिलो राउण्डको खेल ओमान र यूएईमा हुनेछ । जसबाट शीर्ष ४ टोली सुपर १२ मा प्रवेश गर्नेछन् । पहिलो चरणमा बंगलादेश, श्रीलंका, आयरल्याण्ड, नेदरल्याण्ड्स, स्कटल्याण्ड, पपुवा न्युगिनी, ओमान र नाबियाले प्रतिस्पर्धा गर्नेछन् ।