एजेन्सी। १६औं संस्करणको युरो कप फुटबल प्रतियोगिता २०२० अन्तर्गत अन्तिम १६ को खेलमा आज इंग्ल्याण्ड र जर्मनीको बहुप्रतीक्षित भिडन्त हुदैछ ।
नेपाली समयअनुसार आज राति ९:४५ बजे बाट सुरु हुने खेल इंग्ल्याण्डको घरेलु मैदान लण्डनस्थित वेम्वलीमा हुनेछ । समूह चरणपछि पनि घरेलु मैदानमै खेल्न पाउने भाग्यमानी टिम हो इंग्ल्याण्ड । इंग्ल्याण्ड समूह डी को विजेता बन्दै अन्तिम १६ मा पुगेको थियो । ग्रुप अफ डेथ मा रहेको जर्मनी भने समूह एफमा फ्रान्स भन्दा पछि दोस्रो स्थानमा रहेर अन्तिम १६ मा प्रवेश गरेको हो । समूह चरणको तीनवटै खेल घरेलु मैदानमा खेलेको इंग्ल्याण्ड अपराजित रहेको थियो ।
इंग्ल्याण्डले क्रोएसिया र चेक रिपब्लिकलाई समान १-० ले पराजित गर्दा स्कटल्याण्डसँग गोलरहित बराबरी खेलेको थियो । दुवै खेलमा रहिम स्टर्लिङले गोल गरेका थिए । उता फ्रान्ससँग १० ले पराजित हुँदै प्रतियोगिता सुरुवात गरेको जर्मनीले दोस्रो खेलमा साविक विजेता पोर्चुगललाई ४-२ ले पराजित गर्दा हंगेरीसँग २-२ को बराबरी खलेको थियो।
यस खेलको विजेताले क्वाटरफाइनलमा स्वीडेन र युक्रेनबीचको खेलको विजेतासँग खेल्नेछ ।
इंग्ल्याण्ड र जर्मनी खेल्दा सन् १९९६ को युरो सेमिफाइनलको याद ताजा हुन्छ । त्यतिबेला अहिलेका इंग्लिस प्रशिक्षक गारेथ साउथगेटले पेनाल्टी गुमाउँदा जर्मनी विजयी भएको थियो । त्यही संस्करणमा सेमिफाइनल खेलेयता इंग्ल्याण्ड फेरि सेमिफाइनल पुग्न सकेको छैन । इंग्ल्याण्ड दुई पटक सेमिफाइनल पुगे पनि उपाधि जित्न सकेको छैन ।
जर्मनी भने स्पेनसँगै सर्वाधिक ३ पटकको च्याम्पियन हो । १९९६ मा जर्मनीले उपाधि नै जितेको थियो । इंग्ल्याण्डले सन् १९६६ को विश्वकप फाइनलमा जर्मनीलाई पराजित गरेयता मुख्य प्रतियोगिताको नकआउट चरणमा जर्मनीलाई हराउन सकेको छैन ।
१९९६ को त्यो चर्चित सेमिफाइनलमा जर्मनीले इंग्ल्याण्डलाई पेनाल्टीसुट आउटमा ६५ ले पराजित गरेको थियो । सन् २००० को युरोमा भने इंग्ल्याण्डले जर्मनीलाई समूह चरणमा १० ले पराजित गरेको थियो ।
यी दुई टोली युरोकपमा तेस्रो पटक भिड्न लागेका हुन् । इंग्ल्याण्ड र जर्मनी वेम्वलीमा खेल्न लागेको यो १३औं पटक हो । यसअघि भएका १२ खेलमा जर्मनीले ६ खेल जित्दा इंग्ल्याण्डले ४ खेल जितेको छ र २ खेल बराबरीमा सकिएको छ । समग्रमा यी दुई टोलीबीच अहिलेसम्म ३२ खेल हुँदा दुवैले समान १३ खेल जितेका छन् । ६ खेल भने बराबरीमा सकिएको थियो । वेम्वलीमा जर्मनी र इंग्ल्याण्डको खेल हेर्न ४० हजार दर्शक उपस्थित हुनेछन् ।