एजेन्सी- दक्षिण अफ्रिकाको गृह मन्त्रालयले तयार पारेको ग्रीन पेपरमा विवाह संस्थालाई बढी समावेशी बनाउन महिलाहरूलाई पनि एकभन्दा बढी श्रीमान् राख्न पाउने प्रस्ताव गरेको छ । सिएनएनका अनुसार गृह मन्त्रालयको उक्त प्रस्तावमा दक्षिण अफ्रिकाका अनुदारवादीहरूले गम्भीर आपत्ति जनाएका छन् ।
अफ्रिकन क्रिश्चियन डेमोक्रेटिक पार्टीका नेता रेभेरेन्ड केनेथ मेसहोले उक्त प्रस्तावको विरोध गरेका छन् । पुरूषहरूले एकैपटक धेरै श्रीमती राख्न सक्ने भए पनि महिलाहरूका हकमा त्यो लागू नहुने उनले तर्क गरेका छन् ।
उक्त प्रस्तावको विरोध गर्नेमा एकजना अर्का चर्चित अनुहार रियालिटी टिभी सो स्टार मुसा एमसेलुकु पनि हुन् । मुसाका अहिले चार जना श्रीमती छन् । महिलाहरूले एकैपटक धेरै श्रीमान् राख्दा उनीहरूका बच्चालाई परिचयको समस्या हुने मुसाको तर्क छ । ‘ती बच्चाहरू कुन परिवारका हुन्छन्,’ उनको प्रश्न छ । महिलाहरूलाई एकभन्दा बढी श्रीमान् राख्न दिनु अफ्रिकी संस्कृतिविरूद्ध हुने उनको भनाइ छ ।
‘पुरुषहरू इर्ष्यालु र स्वामित्व लिन खोज्ने खालका हुन्छन्। त्यसैले एकपटकमा एक महिलाले धेरै श्रीमान् राख्न सम्भव छैन,’ उनले भनेका छन् । अधिकारकर्मीहरूले भने जे व्यवस्था पुरुषका लागि छ त्यही व्यवस्था महिलाका लागि पनि हुनु समानताको विषय भएको बताएका छन् । गृह मन्त्रालयको प्रस्तावमा जसरी पुरुषहरूको बहुविवाहबारे फरक-फरक धारणा छन् त्यसरी नै महिलाले एकै पटक धेरै श्रीमान् राख्नेबारे फरक मत भएको बताइएको छ । मन्त्रालयले जुन ३० सम्म उक्त प्रस्तावबारे विभिन्न क्षेत्रबाट सुझाव सङ्कलन गरिने जनाएको छ । दक्षिण अफ्रिका यस्तो देश हो जहाँ पुरुषले चाहेजति श्रीमती राख्न पाउने कानुनी छुट छ ।