असार १५, २०७८ बुधबार

एजेन्सी । १६औं संस्करणको युरो कप फुटबल प्रतियोगितामा उपाधि दाबेदार जर्मनीलाई पराजित गर्दै इंग्ल्यान्ड क्वाटरफाइनलमा प्रवेश गरेको छ

मंगलबार राति भएको प्रि-क्वाटरफाइनलमा जर्मनीलाई २-० गोल अन्तरले पराजित गर्दै इंग्ल्यान्ड अन्तिम आठमा पुगेको हो ।

लण्डनस्थित वेम्बली स्टेडियममा इंग्ल्यान्डलाई जित दिलाउन रहिम स्ट्रर्लिङ र ह्यारी केनले एक एक गोल गरे । निकै प्रतिस्पर्धात्मक बनेको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो ।

तर दोस्रो हाफको खेलमा उत्कृष्ट प्रदर्शन गर्दै इंग्ल्याण्डले जित हात पारेको । उसका लागि खेलको ७५ औं मिनेटमा स्ट्रर्लिङले गोल गर्दै सुरुवाती अग्रता दिलाए । उनले लुक शको पासमा गोल गरेका थिए ।

त्यसपछि खेलको ८६ औं मिनेटमा कप्तान केनले गोल गर्दै इंग्ल्यान्डलाई २-० को जित दिलाए । उनले ज्याक ग्रेलिसको पासमा हेडरमार्फत गोल गरेका हुन् ।

उक्त जित सँगै इंग्ल्यान्ड क्वाटरफाइनलमा पुग्ने सातौं टोली बनेको छ । जर्मनी भने प्रतियोगिताबाट बाहिरिएको छ । अब इंग्ल्याण्डले स्विडेन र युक्रेनबीचको बिजेता सँग क्वाटरफाइनल प्रतिस्पर्धा गर्नेछ ।

इंग्ल्याण्ड समूह चरणमा 'डी' को समूह विजेता बन्दै राउण्ड अफ १६ मा स्थान बनाएको हो । इंग्ल्यान्डले ३ खेलमा ७ अंक जोडेको थियो  ।

जर्मनी ग्रुप अफ डेथ मानिएको समूह 'एफ' बाट उपविजेता बन्दै नकआउट चरणमा स्थान बनाएको हो ।