असार १६, २०७८ बुधबार

एजेन्सी । १६औं संस्करणको युरो कप फुटबल प्रतियोगिताको अन्तिम १६ बाटै जर्मनी बाहिरिएपछि मुख्य प्रशिक्षक योकिम लोवको पनि दुःखद अन्त्य भएको छ । जर्मनी पहिलो पटक मुख्य प्रतियोगिताको राउन्ड अफ १६ बाट बाहिरिएपछि पद छोड्ने घोषणा गरिसकेका लोको दुःखद अन्त्य भएको हो । 

मङ्गलबार राति जारी २०२० को युरो कप फुटबल प्रतियोगिताको अन्तिम १६ को खेलमा जर्मनी घरेलु टोली इंग्ल्याण्ड सँग २–० गोलले पराजित हुँदै युरो कपबाट घर फर्किएको हो । लन्डनस्थित वेम्बली स्टेडियममा इंल्याण्डको जितमा रहिम स्टर्लिङ र ह्यारी केनले एक–एक गोल गरेका थिए । जर्मनी ५५ वर्षपछि इंग्ल्याण्डसँग नकआउट चरणमा पराजित भएको हो । 

त्यस्तै ६१ बषीय लोवले गत मार्चमा नै जर्मनी राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक पद छोड्ने घोषणा गरेका हुन् । उनकै नेतृत्वमा जर्मनीले २०१४ को ब्राजिल विश्वकप तथा २०१७ को कन्फेडेरेसन कप जितेको थियो । लोव र जर्मनीबीच २०२२ को कतार विश्वकपसँगको सम्झौता थियो । तर उनले बीचमै टिम छोड्ने घोषणा गरेपछि जर्मनीले उनको स्थानमा ह्यान्सी फ्लिक ल्याउने जनाइसकेको छ । अब, उनी जर्मनीको प्रशिक्षकबाट बिदा हुँदै छन् । युरो कप पछि नै फ्लिक जर्मनीको नयाँ प्रशिक्षक बन्ने यसअघिनै सम्झौता भइसकेको छ ।