असार १६, २०७८ बुधबार

एजेन्सी । युक्रेन युरो कप २०२० फुटबल प्रतियोगिताको अन्तिम आठमा प्रवेश गरेको छ । बुधवार बिहान सम्प्रन भएको अन्तिम १६ को खेलमा स्विडेनमाथि अतिरिक्त समयमा २–१ गोलको जित निकाल्दै युक्रेन क्वार्टरफाइनलमा प्रवेश गरेको हो । 

स्कटल्यान्डको ह्याम्पडेन पार्कमा युक्रेनलाई जिताउन ओलेसान्द्रो जिनचेन्को र आर्टम डभबिकले एक–एक गोल गरे । स्विडेनका इमाइल फोर्सबर्गले एक गोल गरे । 

निर्धारित समय १–१ गोलको बराबरीमा सकिएपछि खेलमा अतिरिक्त समय थपिएको थियो । ९९औं मिनेटमा मार्कस डेनिल्सनले रातो कार्ड पाएपछि स्विडेन १० खेलाडीमा सीमित बनेको थियो । त्यसको फाइदा लिँदै अतिरिक्त समयको इन्ज्युरी समयमा डभबिकले गोल गर्दै युक्रेनलाई जिताएका हुन् । UEFA EURO 2020, Sweden vs Ukraine Highlights: Ukraine beat Sweden 2-1 after  extra time to enter quarters - The Times of India

त्यसअघि खेलको २७औं मिनेटमा जिनचेन्कोले गोल गर्दै युक्रेनलाई अग्रता दिलाएका थिए । ४३औं मिनेटमा फोर्सबर्गले गोल गरेपछि स्विडेन खेलमा फर्किएको थियो ।

उक्त जित सँगै युक्रेन क्बल इतिहासमा पहिलो पटक क्वार्टरफाइनलमा पुगेको छ । यसअघि युक्रेन क्वार्टरफाइनलसम्म पुग्न सकेको थिएन ।  यस खेलसँगै युरोकपको क्वार्टरफाइनल समीकरणसमेत पूरा भएको छ । स्विडेन भने बाहिरिएको छ ।

अब युक्रेनले क्वार्टरफाइनलमा इङ्ग्ल्यान्डको सामना गर्ने छ । स्विडेन समूह ‘ई’ को विजेता बन्दै नकआउट चरणमा प्रवेश गरेको थियो भने युक्रेन समूह ‘सी’को तेस्रो स्थानमा रहँदै अन्तिम १६ मा स्थान पक्का गरेको थियो ।