फागुन १८, २०७७ मंगलबार

एजेन्सी : स्पेनिस ला लिगा फुटबल क्लब रियल मड्रिडका फ्रेन्च प्रशिक्षक जिनेदिन जिदान ला लिगाअन्तर्गत बार्सिलोनालाई उछिन्ने मौका गुमाएपछि निराश बनेका छन् । गए राति रियल सोसिडाडसँग १-१ गोलको बराबरी खेल्दै अंक बाँडेपछि पत्रकार सम्मेलनका क्रममा जिदानले निराशा पोखेका हुन् ।

सोसिडाडका लागि पोर्तुले गोल गरेका थिए भने रियलका लागि भिनिसियस जुनियरले गोल फर्काएका थिए । बराबरीसँगै रियलले दोस्रो स्थानको बार्सिलोनासँग अंक बराबरी गरेको छ । तर उसले बार्सिलोनालाई उछिन्ने मौका पनि खेर फालेको छ ।

रियलले २५ खेलमा ५३ अंक जोडेको छ । दोस्रो स्थानमा रहेको बार्सिलोनासँग समान ५३ अंक छ । रियल गोलअन्तरको आधारमा बार्सिलोनाभन्दा पछि परेको छ । सोसिडाड भने ४२ अंकका साथ पाँचौँ स्थानमा छ ।

खेलपछि जिदानले आफूले खेल्ने शैलीमा परिवर्तन गर्दा हार ब्यहोर्नुपरेको बताएका छन् । ‘मैले खेल्ने शैली नै फेरेको थिएँ किनकि हामीमाथि दवाव भएकोमा म खुसी थिइनँ । १०–१५ मिनेट फेरेरै खेलाएँ र फेरि परिवर्तन गरी ४–३–३ को फर्म्याटमा खेल्दा खेल राम्रो भयो,’ उनले भने ।

‘हाम्रा सब्सिच्युट खेलाडीले राम्रो गरे । कहिलेकाँही कतिपय कुरा परिवर्तन गर्नुपर्छ’, उनले थपे । यसैगरी उनले मौका हुँदा पनि गोल गर्न नसकेकोमा निराश भएको सुनाए । ‘हाम्रो खेल राम्रो थियो र हामीले तीन वा चार मौका पाउँदा पनि गोल गर्न सकेनौँ । यसले निराश बनाएको छ । तर यसमा धैर्यता र आरामको जरुरी छ,’ उनले भने ।