काठमाडौं । स्थिर अवस्थाको कोरोना सङ्क्रमणदर उकालो लाग्न थालेको पाइएको छ । केही दिनयता सङ्क्रमित सङ्ख्या क्रमशः बढ्दै गएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको तथ्याङ्कले देखाउँछ ।
पछिल्ला दिन नेपालमा सङ्क्रमणदर २६ दशमलब ३ प्रतिशत पुगेको छ । जारी निषेधाज्ञा खुकुलो हुँदा हेलचेक्रयाईं अत्यधिक बढेकोसमेत पाइएको छ । बजारमा आवतजावत बाक्लिँदै गएको छ । जसकारण भौतिक दूरी कायम हुन सकेको छैन ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. कृष्ण पौडेलले सङ्क्रमण जोखिम कायमै रहेको भन्दै जनस्वास्थ्यका मापदण्ड पूर्णतः कार्यान्वयन गर्नुपर्नेमा जोड दिए । जनस्वास्थ्य मापदण्ड पालना र आत्मानुशासन हुनसके सङ्क्रमण जोखिमबाट बच्न सकिने जनस्वास्थ्य विज्ञ बताउँछन् ।
मन्त्रालयको तथ्याङ्कअनुसार गत आइतबार १ हजार ९ सय २० जनामा सङ्क्रमण देखिएको थियो । सोमबार २ हजार ४ सय ४४ जनामा सङ्क्रमण पुष्टि भएकामा मङ्गलबार २ हजार ६ सय ३६ जनामा सङ्क्रमण देखियो । हिजो बुधबार देशभर थप २ हजार ८ सय ९२ जनामा पुष्टि भएको छ । क्रमिक रूपमा दैनिक सङ्क्रमित सङ्ख्या बढ्दो देखिन्छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा गरिएको ११ हजार ५ सय ६८ जनाको पीसीआर र एन्टीजेन परीक्षण गरिएको छ । ७ हजार १ सय ८७ को पीसीआर परीक्षण गर्दा १ हजार ८ सय ८९ र ४ हजार ३ सय ८१ जनाको एन्टीजेन परीक्षण गर्दा १ हजार ३ जनामा सङ्क्रमण पुष्टि भएको छ । यो समाचार आजको राजधानी दैनिकमा छ ।