कोभिड–१९ महामारी नियन्त्रणका लागि स्थगन गरिएको मुलुकको आन्तरिक हवाई उडान झण्डै दुई महिनापछि पुनः सञ्चालनमा आएको छ । नियामक नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले आन्तरिक वायुसेवा कम्पनीको दैनिक ६४ उडान सञ्चालन गर्नेगरि उडान तालिका बनाएको छ।
कोरोना भाइरसको महामारी नियन्त्रणका लागि सरकारले गएको वैशाख १६ देखि निषेधाज्ञा लागू गरेको थियो। यस्तै वैशाख २० गतेदेखि आन्तरिक र वैशाख २३ गतेदेखि अन्तर्राष्ट्रिय उडान स्थगन गरिएको थियो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित उडान रोकिराखेको अवस्थामा सङ्क्रमणको हालको स्थितिको मूल्याङ्कन गर्दै विमानस्थल टर्मिनलको क्षमताअनुसार भिडभाड नहुने गरि वायुसेवा कम्पनीले निषेधाज्ञाअघि सञ्चालन गरेको उडान सङ्ख्याको आधार सङ्ख्यामा १० मिनेटको अन्तरालमा उडान तालिका दिइएको छ।
विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीका अनुसार बुद्ध एयरलाई ३१, यती एयरलाइन्सलाई १५, श्री एयरलाइन्सलाई सात, सौर्य एयरलाइन्सलाई तीन तथा स्टकतर्फ उडान गर्ने वायुसेवाका लागि तीन-तीन उडान स्वीकृति दिइएको छ। विमानस्थलले कोभिड–१९ महामारीको हालको जोखिम स्थितिलाई ध्यानमा दिई यात्रुको सुरक्षित आवागमनका लागि नेपाल सरकार र विमानस्थलबाट जारी गरिएको स्वास्थ्यसम्बन्धी मापदण्डरप्रोटोकल प्रभावकारी रूपमा पालना गराउनेछ। यसका लागि सुपरिवेक्षण समितिसमेत गठन गरिएको छ।
आन्तरिक उडानका अग्रणी वायुसेवा प्रदायक कम्पनी बुद्ध एयर, यती एयरलाइन्स, श्री एयरलाइन्स, सौर्य एयरलगायतले जनस्वास्थ्यको मापदण्डलाई कडाइका साथ पालना गर्दै सङ्क्रमणरहित उडानमा जुटेको जनाएका छन्। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जनस्वास्थ्यको मापदण्डको पूर्ण पालना हुने गरी अर्को आदेश जारी नभएसम्मका लागि असार १७ देखि कुल उडान सङ्ख्याको ५० प्रतिशत नबढ्नेगरी आन्तरिक उडान सञ्चालन गर्न नियामक क्यानलाई निर्देशन दिएको थियो ।