पक्षी संरक्षण सङ्घ (बीसीएन) को नेतृत्वमा बुधबारदेखि विश्व रामसार क्षेत्रमा सूचीकृत कैलालीको घोडाघोडी सिमसारमा पाइने हरिहाँसको गणना सुरु भएको छ । जैविक विविधताले अत्यन्त महत्वपूर्ण घोडाघोडी ताल क्षेत्रका लागि हरिहाँस सूचक प्रजाति मानिन्छ ।
घोडाघोडी ताल क्षेत्रमा जाडो र गर्मी दुवै सिजनमा हरिहाँसको गणना हुँदै आएको छ । सन् २००९ देखि हरेक वर्ष यो जलपक्षीको गणना र अनुगमन हुँदै आएको छ । पछिल्लो एक दशकमा गरिएको गणनाको क्रममा दुवै सिजनमा घोडाघोडी ताल क्षेत्रमा हरिहाँसको सङ्ख्या बढेको पाइएको छ ।
सन २००९ देखि २०२० सम्म क्रमशः १५५, १८८, २४३, २९०, ३००, २८९, ३५७, ३२९, ३६०, ३७४, ३९२ र ३६८ हरिहाँस घोडाघोडीमा गणना गरिएको छ । यो जाडो सिजनको सङ्ख्या हो । गर्मी याममा भने जाडो यामको तुलनामा सङ्ख्या कम अभिलेख गरिएको छ । गर्मी याममा क्रमशः १३९, १८०, १७५, २५२, २८८, १७५, १४३, १५३, १७४, १६४, १५६ र १९० हरिहाँस अभिलेख गरिएका छन् ।
वर्खा याममा तालबाहेक अन्यत्र पनि पानी हुने गरेका कारणले यो चरा यत्रतत्र जाने र तालमा कम देखिने गरेको बताइएको छ । यद्यपि, घोडाघोडी ताल क्षेत्रमा पारिस्थितिकीय प्रणालीमा सुधार आएको कारण हरिहाँसको सङ्ख्या बढ्दै गएको संरक्षणकर्मीहरूको ठहर छ ।
सन १९९२ मा यो ताल क्षेत्रमा ६६६ वटा हरिहाँस गणना गरिएको थियो । त्यसपछि सङ्ख्या निकै घटे पनि पछिल्लो एक दशकयता हरिहाँसको सङ्ख्यामा केही सुधार भएको बताइएको छ । तर, प्राकृतिक बासस्थानको विनाश, चोरी सिकार, ‘ब्रिडीङ’ सिजनमा मानवीय हस्तक्षेप जस्ता कारणले हरिहाँसको संरक्षणमा चुनौती बढ्दै गएको चराविद् हिरुलाल डङ्गौराले बताए । ‘हरिहाँसको संरक्षणका लागि उनीहरूको प्राकृतिक बासस्थान जोगाउन आवश्यक छ’, उनले भने ।
यस्तै, कृषिमा रासायनिक मलको बढ्दो प्रयोग पनि हरिहाँसको लागि ज्यादै हानिकारक रहेको डङ्गौराले उल्लेख गरेका छन् । घोडाघोडी ताल क्षेत्रका लागि जङ्गली धान, मगर गोही पनि सूचक प्रजाति मानिन्छ । यी तीन सूचक प्रजातिका कारणले घोडाघोडी सिमसार विभिन्न क्षेत्रमा चिनिएको छ ।