असार १८, २०७८ शुक्रबार

फाइल तस्बिर

एमाले नेता भीम रावलको क्षेत्रमा सुदूरपश्चिम प्रदेश सरकारले करोडौँका योजना ल्याएको छ । प्रदेश गौरवका योजनाहरूमा एक करोड विनियोजन गरेको प्रदेश सरकारले रावलको गाउँ जाने सडक कालोपत्रेका लागि ६ करोड बजेट राखेको छ ।

अछामको साँफेबगर नगरपालिकाको बयलपाटा माझका पीपलदेखि  नदुकाना–कालाआम–डोटै–ल्याङमाता सडक कालोपत्रेका लागि ६ करोड छुट्याइएको हो । रावलको घर कालाआममा छ । ओली पक्षका प्रदेश सभा सदस्य पठानसिंह बोहराले नेता रावलको घरलाई मात्र ध्यानमा राख्दै बजेट दिइनु गलत भएको बताएका छन् । कुनै नेता तथा नेता निकटका कार्यकर्तालाई पोस्ने बजेट स्वीकार्य नहुने उनको तर्क छ ।

सरकारले प्रदेशका गौरवका योजनामा भने बजेट घटाएको छ । गतवर्ष कैलालीबाहेक ८ जिल्लामा ती सडक निर्माण र कालोपत्रेका लागि १०/१० करोड रकम विनियोजन गरिएको थियो । यसपालि आर्थिक मामिला तथा योजना मन्त्रीको जिल्लाबाहेका सबै सडकमा बजेट घटाइएको छ ।

कैलालीमा एक करोड, कञ्चनपुरमा तीन करोड १० लाख, बैतडीमा साढे तीन करोड, दार्चुलामा साढे तीन करोड, अछाममा २ करोड, बझाङमा एक करोड ७५ लाख छुट्याइएको छ । जबकि प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्रीको जिल्ला बाजुरामा भने २६ करोड ९४ लाख विनियोजन गरिएको छ ।