असार १८, २०७८ शुक्रबार

राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगम (नेपाल एअरलाइन्स) ले चीनको राजधानी बेइजिङबाट कोरोना भाइरसविरुद्धको थप खोप ल्याउने भएको छ । सरकारको निर्णयअनुरूप चीनबाट खोप ल्याउनका लागि यही असार २४ गते (जुलाई ८ तारिख) वाइडबडी ए–३३० जहाज पठाउने तयारी गरिएको निगमले जनाएको छ ।

निगमका महाप्रबन्धक डिमप्रकाश पौडलले चीनबाट खोप ल्याउनका लागि वाइडबडी जहाज बेइजिङ पठाउने तयारी गरिएको बताउनुभयो । खोप लिएर निगमको जहाज भोलिपल्ट काठमाण्डौ फर्किनेछ । 

महाप्रबन्धक पौडेलले भन्नुभयो, ‘चीनबाट खोप ल्याउन निगमलाई सरकारको निर्देशन भएबमोजिम तयारी गरिएको छ, खोपको मात्रा तथा त्यो खोप अनुदानको हो या खरिदको भन्ने अहिले खुलिसकेको छैन । हामीले आफ्नो तयारी थालिसकेका छौँ ।’ 

पहिलो उडानमा १० लाख मात्रा खोप ल्याउने गरी तयारीमा रहन निगमलाई निर्देशन दिइएको बताइएको छ ।