असार १८, २०७८ शुक्रबार

मोरङ उर्लाबारीका सनम शाक्य हत्याको घटनासँग जोडिएको साढे ३३ किलो सुन तस्करी प्रकरणको सफल अनुसन्धान गरेका डीआईजी (प्रहरी नायव महानिरीक्षक) अरुणकुमार बिसीले प्रदेश १ प्रहरी प्रमुखको जिम्मेवारी सम्हालेका छन् । 

प्रहरीका बहालवाला र पूर्वप्रहरी अधिकारीसमेत जोडिएको सुन तस्करी र २०७४ साल फागुन १८ गते भएको सनम हत्या प्रकरणको अनुसन्धान मोरङ प्रहरीले गरेको थियो । निक्कै जटिल मानिएको यो प्रकरणको अनुसन्धान गर्दा मोरङ प्रहरी प्रमुख र एसपी (प्रहरी उपरीक्षक)को भूमिका एवं जिम्मेवारीमा बिसी रहेका थिए । उनै सफल अनुसन्धानकर्ता बिसीले प्रदेश प्रहरी प्रमुखका रूपमा अहिले मोरङसहित प्रदेश १ का १४ जिल्लाको नेतृत्व सम्हाल्ने अवसर पाएका हुन् । 

सरकारले गरेको डीआईजीको पछिल्लो सरुवाबाट अख्तियार दुरुपयोग अनुसन्धान आयोगको केन्द्रीय कार्यालयमा कार्यरत बिसीले प्रदेश १ प्रहरी प्रमुखको जिम्मेवारी पाएका हुन् । हाजिर भएर बिहीबारबाट प्रदेश प्रहरी प्रमुखको नेतृत्व एवं कार्यभार सम्हालेका बिसी पूर्वी नेपालका बारेमा निक्कै जानकार प्रहरी अधिकृत हुन् । प्रदेश १ का विभिन्न प्रहरी युनिटमा बसेर अपराध नियन्त्रण, अनुसन्धान र शान्ति सुरक्षाका सवालमा काम गरेको लामो अनुभव उनीसँग छ । 

यसअघि २०७४ साल साउनमा एसपी हुँदा उनी मोरङ प्रहरी प्रमुखको नेतृत्व सम्हाल्न आइपुगेका थिए । मोरङमा हाजिर हुन नपाउँदै त्यतिबेला नेपाल प्रहरीको नेतृत्व गरेर बिसीले विराटनगर महानगरपालिकासहित मोरङ जिल्लाभरको बाढीपहिरो तथा डुबानग्रस्त क्षेत्रको उद्धार एवं व्यवस्थापनमा खटिनु परेको थियो । प्रदेश १ को राजधानी विराटनगरमा २०७४ सालको बाढी तथा डुबानले पाँच दशकपछिकै सबैभन्दा धेरै क्षति गरेको बताइन्छ । 

यसवर्ष पनि वर्खा र बाढीपहिरो तथा डुबानको समस्या सुरु भइसकेपछि डीआईजी बिसी प्रदेश प्रहरीको नेतृत्व हाँक्न आइपुगेका छन् । अपराधिक घटनाका हिसाबमा २०७४ साल मोरङ प्रहरीका लागि निक्कै चुनौतीपूर्ण मानिन्छ । बिसी प्रहरीको नेतृत्व सम्हालेर २०७५ जेठसम्म मोरङमा रहँदा महत्वपूर्ण अनुसन्धान गर्दै सनसनी मच्चाएका र ठूला घटनालाई निस्कर्षमा पुर्‍याउन सफल प्रहरी अधिकृत हुन् । 

धर्म, पेसा र राजनीतिसमेत जोडिएका विभिन्न एवं जघन्य प्रकृतिका घटना तथा अपराधको अनुसन्धानमा त्यतिबेला केन्द्रित हुनुपर्दा बिसी नेतृत्वमा रहेको मोरङ प्रहरीसामु निक्कै ठूलो चुनौती खडा भएको थियो । तर अपराध अनुसन्धान र नियन्त्रणमा निक्कै पोख्त मानिएका उनी विभिन्न चुनौतीलाई पार लगाउँदै सफल भएर मोरङबाट विदा हुँदा सबैतिरबाट तारिफ र प्रशंसा बटुल्न सफल भए । 

सुन प्रकरणसँग जोडिएका सनमको मोरङमै हत्या भएको थियो । यूएईबाट  त्रिभुवन विमानस्थलहुँदै बाहिरिएको साढे ३३ किलो सुन हराएपछि लुकाएको आशंकामा चूडामणि उप्रेती ‘गोरे’ को समूहले सनम शाक्यलाई करेन्ट लगाएर यातना दिँदै हत्या गरेको थियो । पूर्व एवं बहालवाला उच्च प्रहरी अधिकारीलाई समेत हिरासतमा लिएर सुन तस्करी एवं हत्याको अनुसन्धान गर्नु निक्कै चुनौतीपूर्ण मानिएको थियो । यस प्रकरणको छानबिन गर्न गृह मन्त्रालयले सह–सचिव ईश्वरराज पौडेलको नेतृत्वमा समिति बनाए पनि व्यवस्थापन र मुद्दाको अनुसन्धान गर्नुपर्ने जिम्मेवारी मोरङ प्रहरीको थियो ।

प्रहरीले अनुसन्धान सकेर मिसिल बुझाएपछि जिल्ला सरकारी वकिल कार्यालय मोरङले अभियोगपत्र तयार पार्दै २०७५ साल वैशाख १९ गते ६३ जनालाई अभियुक्त बनाएर पहिलो पटक जिल्ला अदालत मोरङमा अपराधिक समूह स्थापना तथा सञ्चालन गरी सुन चोरी पैठारी र चोरी निकासीको अवैध कारोवार, अपहरण तथा शरीर बन्धक र कर्तव्य ज्यान शीर्षकमा मुद्दा दर्ता गरेको थियो । पछि दुईवटा पूरक अभियोगसमेत गरेर मुख्य अभियुक्त ‘गोरे’ र उच्च प्रहरी अधिकारीसहित ७५ जनाविरुद्ध दर्ता भएको मुद्दा अहिले पनि विचाराधीन छ । 

मुद्दा चलाइएकामध्ये प्रहरी अधिकारीसहित अधिकांश साधारण तारेख र धरौटीमा छुटिसकेका छन् । डीएसपी सञ्जय राउतसहितका केही मात्रै थुनामा छन् । मुद्दाको अन्तिम फैसला हुन बाँकी छ । 

त्यस्तै धार्मिक ढंगा भड्काउने उदेश्यले भएको हिन्दु धर्मगुरु आचार्य श्रीनिवासमाथिको गोली प्रहार घटनाको अनुसन्धान गर्दै वास्तविकता पत्ता लगाउन बिसी नेतृत्वको प्रहरी सफल भयो । विराटनगरको जतुवामा २०७४ चैत २५ गते आयोजित सप्ताह बाचनका लागि आएका उनीमाथि गोली प्रहार भएको थियो । प्रहरीको मिहिन अनुसन्धानले हिन्दु राज्यको माग राखेर भइरहेको आन्दोलन सफल नभएपछि धर्मको नाममा आन्दोलन चर्काउन आचार्य श्रीनिवास आफैले योजना बनाएर आफूलाई नै गोली हान्न लगाएको पुष्टि गरेको थियो । घटनाको यथार्थ पत्ता लागेपछि त्यतिबेला उनलाई नियन्त्रणमा लिएर प्रहरीले हातहतियार तथा खरखजाना मुद्दा चलायो ।  

विराटनगरका एक जना मेडिकल कलेजका सञ्चालकलाई ज्यान मार्ने धम्की दिने भारतीय कुख्यात अपराधी विनोद राठौर ९यादव०लाई हतियारसहित पक्राउ गर्न बिसी नेतृत्वकै प्रहरी सफल भयो । उनकै पालामा भारतीय राजदूतावासको कार्यालयनजिक र विराटनगरका विभिन्न स्थानमा बम विष्फोट गराइएको थियो । तर प्रहरी सबै घटनामा संलग्नलाई पक्राउ गरेर कारबाहीको दायरामा ल्याउन सफल भयो । बिसीका पालामा मोरङमा भएका सबै अपराधमा प्रहरीले सफलता प्राप्त गरेको थियो । 

स्रोतका अनुसार सालिन र भद्र स्वभाव एवं आफ्नो जिम्मेवारीलाई सफलतापूर्वक रूपमा सम्पन्न गर्नसक्ने उत्कृष्ट कार्यक्षमताकै कारण बिसी प्रहरी प्रधान कार्यालयको रोजाइमा पर्ने प्रहरी अधिकृत हुन् । उनी संगठनभित्र आर्थिक चलेखेल नरुचाउने र नगर्ने प्रहरी अधिकारीका रूपमा पनि चिन्छिन् । 

बिसीले प्रदेश प्रहरी प्रमुखको जिम्मेवारी सम्हाल्दै गर्दा सुनसरीको सीमा नाका हुँदै तस्करी गरेर चिनियाँ स्याउ भारत पुर्‍याइएको घटना जल्दोबल्दो रूपमा उठिरहेको छ । कोरोना महामारी नियन्त्रणका लागि सरकारले नेपाल–भारत सीमा बन्द गरेको अवस्थामा तीन ट्रक स्याउ भारत पुर्‍याइएको घटना यतिबेला निक्कै चर्चामा छ । स्याउ तस्करी भएका बेला प्रदेश प्रहरी प्रमुखका रूपमा डीआईजी ईश्वरबाबु कार्की कार्यरत थिए । कार्कीले गठन गरेको एसएसपी (प्रहरी वरिष्ठ उपरीक्षक) राजेन्द्र चौधरी नेतृत्वको छानबिन समितिले प्रतिवेदन बुझाइसकेको छ । 

प्रतिवेदनले दोषी ठहर गरेका प्रहरीमाथिको कारबाहीबाट बिसीको नेतृत्व सुरु भएको छ । गत आइतबार बुझाइएको प्रतिवेदनको फायल नै बिसी आइपुगेपछि खोलेर कारबाही अघि बढाउने प्रदेश प्रहरी कार्यालयको योजना थियो ।  

कार्यभार सम्हाल्दै बिसीले अपराधको अनुसन्धान, मजवुत शान्ति सुरक्षा, चोरी–तस्करी, मानब बेचबिखन, लागुऔषध एवं हतियारको ओसारपसार, सीमा तथा मानवताविरुद्धका सबै खाले अपराध नियन्त्रण तथा नागरिक–प्रहरी सम्बन्ध सुधारका लागि प्रतिवद्धता जनाएका छन् । प्रहरीको ‘सेटिङ’मा नेपालबाट भारत र भारतबाट नेपालतिर भइरहेको तस्करी पनि उनको कार्यकालमा रोकिने अपेक्षा गरिएको छ । 

उनले शान्त समाज निर्माण र कानुन कार्यान्वयन तथा अवैध गतिविधी नियन्त्रणमा कुनै पनि सम्झौता नहुने स्पष्ट पारेका छन् । यसअघिकै कामकारबाहीले भद्र र सालिन स्वाभावका बिसी कानुन कार्यान्वयनका सवालमा भने प्रतिवद्ध र कठोर प्रहरी अधिकृत हुन्भन्ने छाप छाडिसकेको छ । विभिन्न जटिल अनुसन्धानलाई सफलतापूर्वक र विवादरहित बनाउन सफल भएपछि प्रहरी संगठनभित्र बिसीको उचाइ बढेको हो ।