असार १८, २०७८ शुक्रबार

 काठमाण्डौ।  विश्व खेलकुद पत्रकार दिवस अवसरमा नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले शुक्रबार आयोजना गरेको स्पोर्टस् अवार्ड ७६/७७ वितरण समारोह सम्पन्न भएको छ ।

पोखरा रंगशालाको ब्याडमिन्टन हलमा सेमिभर्चुअल रुपमा आयोजना गरिएको समारोहमा पुरुषतर्फ वर्ष उत्कृष्ट खेलाडी करातेका नवीन रसाइली घोषित भएका छन् ।

महिलातर्फ  तेक्वान्दोकी पार्वती गुरुङ वर्ष उत्कृष्ट खेलाडी घोषित भईन् । उनीहरुले जनही २ लाख प्राप्त गरेका छन् ।

यस्तै लाइफटाइम अचिभमेन्ट अवार्डबाट केशव रञ्जित (आनन्द) लाई सम्मान गरियो । पोखरा नदीपुर निवासी आनन्दले पोखराको फुटबल विकासमा ठूलो योगदान दिएका छन् ।

उदीयमान खेलाडी पौडीकी १४ वर्षीया डुवाना लामा घोषित भएकी छन् । वर्ष उत्कृष्ट प्रशिक्षक बक्सिङका सुरेश मल्ल ठकुरी घोषित भए । उत्कृष्ट उदीयमान र प्रशिक्षकलाई जनही ३५ हजार रुपैयाँ, ट्रफी प्रदान गरिएको छ ।

मञ्चले प्रदान गर्ने वर्ष उत्कृष्ट पत्रकार अवार्डतर्फ नागरिक दैनिकका सन्देश श्रेष्ठ र पोखरा स्पोर्टस् डटकमका केशव पाठक सम्मानित भए । उनीहरुलाई जनही ३५ हजार रुपैयाँ, ट्रफी प्रदान गरियो ।

वर्ष उत्कृष्ट खेल संघबाट जिल्ला आर्चरी संघ कास्की सम्मानित भयो । सो वापतको पुरस्कार संघ अध्यक्ष योगेन्द्र शेरचनलाई हस्तान्तरण गरियो ।

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलको प्रमुख आतिथ्यमा भएको समारोहमा विजेतालाई प्रदेशका बिना विभागीय मन्त्री राजीव गुरुङ, सांसद दीपक कोइराला लगायतको उपस्थिति रहेको थियो ।

प्रमुख अतिथि मुख्यमन्त्री पोखरेलले खेलाडीलाई प्रोत्साहन गर्ने उद्देश्यले आयोजित अवार्ड समारोहको महत्वबारे प्रकाश पार्दै सरकारले खेल क्षेत्रमा आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।