एजेन्सी । १६औं संस्करणको युरो कप फुटबल प्रतियोगितामा अन्तर्गत आजबाट सुरु भएको पहिलो क्वाटरफाइनलको खेलमा स्विट्जरल्यान्डलाई पेनाल्टी सुटआउटमा ३-१ गोल अन्तरले पराजित गर्दै स्पेन सेमिफाइनलमा प्रवेश गरेको हो ।
निकै प्रतिस्पर्धात्मक बनेको खेलको निर्धारित ९० मिनेटमा दुबै टोलीले १-१ गोलको बराबरीमा सकिए पछि खेल अतिरिक्त समयमा गरेको थियो । त्यस्तै अतिरिक्त समयमा दुबै टोलीबाट गोल हुन नसक्दा खेल पेनाल्टी सुटआउटमा गएको हो ।
जसमा १० खेलाडी सम्मिलित स्विट्जरल्यान्डको दुई प्रहार स्पेनी गोलरक्षक उनाइ सिमोनले बचाएपछि स्पेन ३-१ गोल अन्तरको जित निकाल्दै अन्तिम चारमा पुगेको हो ।
पेनाल्टीमा स्पेनका डानिल ओल्मो, जेरार्ड मोरेनो र मिकेल ओयार्जबलले गोल गरे । स्पेनका सर्जियो बुस्केट्सको प्रहार पोस्टमा लागेर फर्किदा रोड्रीको प्रहार स्विस गोलकिपर यान सोमेरले बचाए ।
स्विट्जरल्यान्डका मारियो गाभ्रानोभिचले मात्र गोल गरे । फाबियन, अकान्जी म्यानुएलको प्रहार स्पेनिस गोलकिपर सिमोनले बचाए भने रुबेन भेर्गासको प्रहार बाहिरिएको थियो ।
त्यसअघि खेलको सुरुवातदेखि नै बल पोसेसनमा पकड जमाएको स्पेनले खेलको आठौं मिनेटमा नै अग्रता लिएको थियो । स्पेनले आत्मघाती गोल उपहारबाट अग्रता बनाएको थियो । स्विट्जरल्यान्डका डेनिस जाकारियाले आत्मघाती गोल गरे । स्पेनका जोर्डी अल्बाले बक्स बाहिरबाट प्रहार गरेको बल डेनिसलाई लाग्दै गोलमा परिणत भएको थियो ।
तर, खेलको ६८ औं मिनेटमा कप्तान जद्रान शाकिरीले गोल गर्दै स्विट्जरल्यान्डलाई १-१ गोलको बराबरीमा फर्काए । उनले रिमो फ्रिउलरको पासमा गोल गरे । त्यस्तै खेलको खेलको ७८ औं मिनेटमा स्विट्जरल्यान्ड १० खेलाडीमा समेटियो । उसका फ्रिउलर रातो कार्ड पाउदै मैदानबाट बाहिरिएका थिए । स्पेनका जेरार्ड मोरेनोलाई खराब ट्याकल गरेपछि उनलाई रेफ्रीले सिधै रातो कार्ड देखाएका थिए ।
अब स्पेनले फाइनल प्रवेशको लागि बेल्जियम र इटालीबीचको बिजेता सँग खेल्नेछ ।