एजेन्सी । १६औं संस्करणको युरो कप फुटबल प्रतियोगिता २०२० अन्तर्गत शनिबार बिहान सम्पन्न भएको खेलमा बेल्जियममाथि २-१ गोलको जित निकाल्दै इटाली सेमिफाइनलमा प्रवेश गरेको हो ।
जर्मनीको एलिनाज स्टेडियममा भएको खेलमा इटालीलाई जित दिलाउन निकोलो बरेला र लोरेन्जो इन्सिनेले समान १/१ गोल गरे । बेल्जियमका रोमेलु लुकाकुले एक गोल फर्काए । यी तीनै गोल पहिलो हाफमा सम्भव भएको थियो ।
खेलको ३० औं मिनेटमा बरेलाले गोल गर्दै इटालीलाई सुरुवाती अग्रता दिलाएका थिए । मार्को भेराट्टीको पासमा उनले दुई डिफेन्डरलाई बिट गर्दै गोल गरे । त्यस्तै खेलको खेलको ४४ औं मिनेटमा लोरेन्जोले गोल गर्दै इटालीलाई २-० को अग्रता दिलाए ।
पहिलो हाफको इन्जुरी समयको दोस्रो मिनेटमा लुकाकुले पेनाल्टीमा गोल गर्दै खेल २-१ को स्थितिमा ल्याए । जियोभानी लोरेन्जोले पेनाल्टी बक्स भित्र जेरीमी डोकुलाई लडाएपछि बेल्जियमले पेनाल्टीको अवसर पाएको थियो ।
त्यसपछि दोस्रो हाफमा थप गोल नहुना इटाली विजयी भयो । अब फाइनल प्रवेशको लागि इटालीले स्पेनको सामना गर्नेछ । त्यस्तै स्पेनले स्विट्जरल्यान्डलाई पेनाल्टी सुटआउटमा ३-१ गोल अन्तरले हराउँदै सेमिफाइनलमा प्रवेश गरेको छ ।