एजेन्सी । युरोपका विभिन्न्र ११ शहरमा जारी १६ औं संस्करणको युरोकप फुटबलमा आज क्वाटर फाइनलका दुई खेल हुँदैछन् । शनिबार राति हुने पहिलो खेलमा चेक रिपब्लिकले डेनमार्कसँग र दोस्रो खेलमा युक्रेनले इंग्ल्यान्डसँग खेल्दैछ ।
नेपाली समयअनुसार आज राति हुने पहिलो खेलमा चेक रिपब्लिक र डेनमार्कबीचको खेल ९ः४५ मा सुरु हुनेछ । यो खेल अजरबैजानको बाकु ओलम्पिक स्टेडियममा हुनेछ । त्यस्तै दोस्रो तथा अन्तिम खेलमा इंग्ल्यान्ड र युक्रेनबीच राति १२ः४५ बजेबाट इटालीको रोममा सुरु हुनेछ ।
इंग्ल्यान्डले उपाधि दाबेदार जर्मनीलाई पराजित गर्दै क्वाटरफाइनलमा पुगेको हो भने युक्रेनले स्विडेनलाई पराजित गर्दै अन्तिम ८ मा स्थान बनाएको थियो । दुवै टोली अन्तिम चारमा प्रवेश गर्ने दाउमा हुनेछन् । चेक रिपब्लिकले नेदरल्यान्ड्सलाई पराजित गर्दै अन्तिम ८ मा प्रवेश गर्दा डेनमार्कले वेल्सलाई पराजित गरेको थियो ।