काठमाडौँ, २५ माघ : केही समय अगाडि हलिउड चलचित्र ‘आइस रोड २’को छायाङ्कन अष्ट्रेलियाको भिक्टोरियास्थित वालहल्ला भन्ने ठाउँमा गर्दा कोदारी (अरनिको) राजमार्ग र बाह्रबिसे आसपासको दृश्यझैँ देखिने स्थानको निर्माण (सेट लगाएर) गरियो । उक्त स्थानको श्रव्यदृश्य र तस्बिर सार्वजनिक भएसँगै नेपालको झल्को दिएको प्रतिक्रिया सामाजिक सञ्जालमा देखियो । यो सब स्टुडियोका कारण सम्भव भएकाले पुनः एकपटक स्टुडियोको महत्वको चर्चा सुरु भएको छ ।
नेपालमा स–साना स्टुडियो नभएका होइनन् । तर उक्त स्थानमा एउटा दृश्य (एक सेट) निर्माण गरेपछि अर्को गर्न सकिँदैन । ती साना भएको र समयसापेक्ष नभएकाले प्रयोगमा कम आउने गरेका छन् । दृश्य निर्माण गरेर छायाङ्कन गर्न पर्याप्त स्थान प्राप्त भएमा नेपाली चलचित्रकर्मीको प्राथमिकतामा स्टुडियो पर्ने देखिन्छ । किनकि सार्वजनिक स्थानमा गरिने छायाङ्कनले कलाकारलाई असहजता हुनुका साथै सामाजिक सञ्जालमार्फत दृश्य सार्वजनिक हुने, कलाकारले निर्माण गरेको आवरण (लुक्स) बाहिरिने सम्भावना बढी हुन्छ ।
गत असारमा छायाङ्कन गरिएको ‘पशुपति प्रसाद–२ ः भष्मे डन’ मा अभिनेत्री स्वस्तिमा खड्का दुर्गा माताको वेशभूषामा देखिनुभएको थियो । पशुपति क्षेत्रमा छायाङ््कन गरिएकाले उहाँको तस्बिर र दृश्य सामाजिक सञ्जालमार्फत सार्वजनिक भयो । निर्माण समूहले उहाँसँगै अभिनेता विपिन कार्कीले निर्वाह गर्नुभएको भष्मे डनको आवरणलाई पनि लुकाउन सकेन । ती कलाकारको आवरणलाई विशेष समयमा प्रचार–प्रसार हुने हेतुले सार्वजनिक गर्ने तालिका बनाएता पनि सामाजिक सञ्जालमार्फत सार्वजनिक भएपछि त्यसलाई योजनाअनुरुप दर्शकसम्म लान नसकिएको निर्देशक दीपेन्द्रकुमार खनालले बताउनुभयो ।
“हाम्रो कथावस्तुअनुसार पशुपति क्षेत्रमै दृश्याङ्कन गर्नुपर्ने थियो । त्यसकारण पनि हाम्रो कलाकारको आवरण लुकाउन सहज भएन । त्यसपछि हामीले छायाङ्कन गर्दा नै लिइने ध्वनि (सिङ्क साउण्ड) मा काम गरेका थियौँ । बाहिरी दृश्य भएकाले निकै असहज भयो । यस्तो समयमा स्टुडियो भएको भए भन्ने लाग्दोरहेछ”, निर्देशक खनालले भन्नुभयो ।
अभिनेता विपिन कार्कीले विस्तारै नेपालमा स्टुडियोको अभाव महसुस गर्न थाल्नुभएको छ । बाहिर भीडभाडमा छायाङ्कन हुँदा कलाकारलाई चरित्रमा रहन सहज नहुने उहाँले बताउनुभयो । “हामीले चरित्रलाई निर्माण गरेर रहन म त्यहाँ विपिन हुँदिन । तर बाहिर छायाङ्कन गर्नुपर्दा चरित्रमा रहिरहन विविध कुराले असर गर्छ”, अभिनेता कार्कीले भन्नुभयो, “कलाकारलाई एक सुरमा अभिनय गर्न दिइयो भने अझै राम्रो नतिजा आउँछजस्तो लाग्छ । कहिलेकाहीँ कुनै स्थानमा रोकछेक गरेर छायाङ्कन हुँदा छुट्टै अनुभव हुन्छ ।”
गत मङ्सिरमा खुलामञ्चमा चलचित्र ‘महाजात्रा’को छायाङ्कन गर्नुभएका कार्यकारी निर्माता तथा अभिनेता रवीन्द्रसिंह बानियाँले एकै समयमा तीन दृश्य खिच्नुभयो । उहाँले एक साइडमा गीत, अर्कोमा चलचित्रको अन्तिम दृश्य र अर्कोतर्फ केही भीएफएक्स गर्न मिल्ने दृश्य खिचिएको बताउनुभयो ।
“हामीसँग समय अभाव भएका कारण तीन दृश्य खिच्यौँ । तर बेलुकी हुँदै गएपछि उज्यालो (लाइट)को समस्या हुनेरहेछ । त्यतिबेला स्टुडियो भए गज्जब हुन्थ्यो भन्ने नलागेको होइन”, अभिनेता बानियाँले भन्नुभयो, “हामीले केही दृश्य सेट निर्माण गरेर खिचेका छौँ । चलचित्रको कथाअनुसार बाहिर धेरै खिचिएको छ । खुलामञ्चमा खिच्दा कलाकारले आनन्दित महसुस गरे । किनकि त्यहाँ हाम्रो चलचित्रको समूहबाहेक अन्य थिएनन् ।”
सोही चलचित्रका निर्देशक प्रदीप भट्टराईले तीन दृश्यलाई एकैपटक खिच्नुले समयको बचत भएको बताउनुभयो । “गीतमा नृत्य निर्देशक भएकाले निर्देशकको धेरै काम हँुदैन । सोही समयमा स–साना दृश्य खिच्न सकिन्छ । तर हामीसँग त्यसका लागि उपयुक्त स्थान वा स्टुडियोको कमी छ । सोही कारण हामीले खुलामञ्च रोजेका थियौँ”, निर्देशक भट्टराईले भन्नुभयो ।
विदेशी चलचित्रमा स्टुडियोको सहाराले चाहिने दृश्यलाई प्रविधिको सहायताले दुरुस्तै निर्माण गर्न सकिन्छ । नेपालमा पनि स्टुडियोको आवश्यकता रहेको आवाज बेलाबखतमा उठ्ने गरेको छ । आर्थिक वर्ष २०८०÷८१ का लागि प्रस्तुत बजेटमा सार्वजनिक निजी साझेदारीमा दोलखा र काभ्रेको बनेपामा फिल्म सिटी र इन्डोर स्टुडियो निर्माण प्रक्रिया अघि बढाइने उल्लेख गरिएता पनि कामले पूर्णता पाएको छैन । हरेक वर्ष बजेट विनियोजन हुने तर त्यसको प्रभावकारिता नदेखिएको गुनासो चलचित्रकर्मीको छ ।
चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले स्टुडियोको समस्यालाई आफूले पनि महसुस गरेको बताउनुभयो । “हामीले अस्पतालमा कुनै दृश्य खिच्नुप¥यो भने बिरामीलाई डिस्टर्व होला भनेर विस्तारै है भन्दै खिच्नुपर्छ । यस्तै धेरै अनुभव छन् । हामी उक्त स्थान निर्माण गरेर छायाङ्कन गर्ने स्टुडियो नहुँदा देखिएका समस्या धेरै छन्”, अध्यक्ष केसीले भन्नुभयो, “ती समस्यालाई महसुस गरेर नै स्टुडियोको कामलाई निरीक्षण गरेर छिटो निर्माण गर्न दबाब दिइरहेका छौँ । काभ्रेमा स्टुडियो बन्ने सम्भावना देखिएको छ ।”
उहाँले चलचित्र क्षेत्रमा देखिएको समस्यामा आफूले चाहेर पनि सोचेजस्तो काम गर्न नसकेको स्वीकार्दै नीति बनेपछि समस्या समाधान हुने बताउनुभयो ।
“म पनि यसअगाडि आफ्ना समस्या लिएर बोर्ड नपुगेको होइन । तर नेतृत्व गरेपछि मैले त्यहाँको समस्या बुझेको छु । त्यसका लागि नीति आवश्यक पर्ने भएकाले त्यसमा जोड दिइरहेको छु”, बोर्ड अध्यक्ष केसीले भन्नुभयो, “नेपाली चलचित्र विदेशीझैँ प्रतिस्पर्धामा उत्रिन विदेशी लगानी ल्याउनेमा जोड दिइरहेका छौँ । बोर्डले शतप्रतिशत नभए पनि केही लगानी ल्याउने वातावरण निर्माण गर्न पहल गरिरहेको छ ।”