असार २०, २०७८ आइतबार

एजेन्सी । युरोपका विभिन्न ११ सहरमा जारी १६औं संस्करणको युरो कप २०२० फुटबल प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ । 

शनिबार राति अन्तिम दुई खेलबाट इंग्ल्याण्ड र डेनमार्क सेमिफाइनलमा प्रवेश गरेसँगै युरो कपको अन्तिम चारमा पुग्ने चारै टोलीको टुङ्गो लागेको हो ।

गए राति चेक रिपब्लिकलाई २–१ गोलले हराउँदै डेनमार्कले सेमिफाइनलमा स्थान पक्का गर्दा युक्रेनमाथि ४–० गोलको शानदार जित निकाल्दै इंग्ल्याण्ड अन्तिम चारमा पुग्यो । 

त्यसअघि शुक्रबार राति स्विट्जरल्यान्डलाई पेनाल्टी सुटआउटमा ३–१ गोलले हराउँदै स्पेन र बेल्जियमलाई २–१ गोलले हराउँदै इटाली अन्तिम चारमा पुगेका छन् ।

अब, फाइनल प्रवेशका लागि मङ्गलबार राति इटालीले स्पेनसँग खेल्नेछ भने इंग्ल्याण्डले बुधबार राति डेनमार्कसँग प्रतिस्पर्धा गर्नेछ । दुवै खेल नेपाली समयानुसार राति १२ः४५ बजे हुनेछन् ।