माघ २९, २०८० सोमबार

जेरूसेलम, २९ माघ: इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहू र अमेरिकी राष्ट्रपति जो बाइडेनबीच गाजामा बन्धक बनाइएका बन्धकहरूलाई मुक्त गर्न जारी प्रयास र प्यालेस्टाइनी इलाकामा थप सहायताका लागि जारी प्रयासबारे आइतबार फोनवार्ता भएको छ । 

सन् २०२३ को अक्टोबर ७ मा हमासको आक्रमणका क्रममा अपहरणमा परेका करिब १०० जना गाजामै रहेको इजरायली अधिकारीले सिन्ह्वासँग बताए ।

उहाँहरूबीच गाजाको सबैभन्दा दक्षिणी शहर रफाहमा स्थलआक्रमण गर्ने इजरायलको घोषित योजनाका साथै गाजामा थप सहायताको सहजीकरणका बारेमा पनि छलफल भएको थियो ।

ह्वाइट हाउसले जारी गरेको विज्ञप्तिअनुसार राष्ट्रपति बाइडेनले नेतन्याहूलाई इजरायलले रफाहमा आश्रय लिइरहेका करिब १० लाख मानिसको सुरक्षा सुनिश्चित गर्ने योजनाबिना सैन्य अभियान अघि बढाउन नहुने बताउनुभएको छ । 

उहाँले ‘हमासलाई परास्त गर्ने साझा लक्ष्य’ भएको र गाजामा रहेका सर्वसाधारणका लागि मानवीय सहायता बढाउन तत्काल कदम चाल्न पनि आग्रह गर्नुभएको छ । 

बाइडेनले गत हप्ता इजरायलको सैन्य अभियानको आलोचना गरेपछि दुई नेताबीच पहिलो पटक कुराकानी भएको हो । गाजा पट्टीमा इजरायली आक्रमणमा परी मृत्यु हुने प्यालेस्टिनीको सङ्ख्या सन्

२०२३ अक्टोबर ७ देखि अहिलेसम्म २८ हजार १७६ पुगेको छ भने अन्य ६७,७८४ जना घाइते भएका गाजास्थित प्यालेष्टिनी स्वास्थ्य मन्त्रालयले आइतबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।