माघ २९, २०८० सोमबार

गाजा, २९ माघ:  दक्षिणी सहर रफाह र गाजापट्टीको वरपरका क्षेत्रमा इजरायली सेनाले गरेको भारी आक्रमणमा सोमबार एक सयभन्दा बढीको मृत्यु भएको छ । आक्रमणमा महिला तथा बालबालिकासहित सयौँ घाइते भएको आधिकारिक प्यालेस्टिनी समाचार संस्था वाफाले जनाएको छ । 

सोमबार बिहान रफाह क्षेत्रमा इजरायली सेनाले करिब ४० वटा हवाई आक्रमणसहित जमिनमा गोलाबारी गरेको बताइएको छ । इजरायली सेनाले दक्षिणी गाजामा हमासले श्रृङ्खलाबद्ध आक्रमण गरेकोे बताएको छ । आक्रमणबाट भएको क्षतिको विवरण भने दिएको छैन । 

सन् २०२३ को अक्टोबर ७ देखि गाजापट्टीमा इजरायली आक्रमणबाट मृत्यु हुने प्यालेस्टिनीको  सङ्ख्या २८ हजार एक १७६ पुगेको छ । आक्रमणमा  ६७ हजार ७८४ घाइते भएको गाजाको स्वास्थ्य मन्त्रालयले  विज्ञप्तिमार्फत बताएको छ । 

गाजामा इजरायल–हमास द्वन्द्व सुरु भएदेखि करिब आधा बासिन्दा सुरक्षाको खोजीमा इजिप्टको छेउमा रहेको रफाहमा पुगेका छन् । 

रफाह क्रसिङमार्फत विदेशी देशहरू र संयुक्त राष्ट्रका एजेन्सीबाट खाना तथा औषधि सहायता प्राप्त गर्दे जीवन गुजारिरहेका छन् । सीमावर्ती रफाह सहरमा कृषि भूमि, विद्यालय र सडक किनारमा विस्थापितहरूले भरिएको छ ।