असार २०, २०७८ आइतबार

साताको पहिलो कारोबार दिन आइतबार नेप्से घटेको छ । नेप्से आज आठ दशमलव ४८ अंकले घटेर दुई हजार आठ सय ३४ दशमलव ५१ अंकमा पुगेको छ । सेन्सिटिभ इन्डेक्स पनि शून्य दशमलव ३३ अंकले घटेर पाँच सय २८ दशमलव ४५ अंकमा पुगेको छ ।

आज दुई सय २४ वटा कम्पनीको ६० हजार एक सय ७५ पटकको कारोबारमा एक करोड आठ लाख ४२ हजार दुई सय २१ कित्ता सेयर खरिद(बिक्री हुँदा कुल कारोबार रकम पाँच अर्ब पाँच करोड ३५ लाख ३८ हजार दुई सय ५७ रुपैयाँ पुगेको छ ।

१३ वटा समूहको कारोबार भएकामा आज तीनवटा समूहको सूचक बढेर बाँकी १० वटा समूहको सूचक घटेका छन् । तीमध्ये होटेल तथा पर्यटन समूहको सूचक ८६ दशमलव ३८ अंकले बढेर तीन हजार सात सय ४३ दशमलव ५७ अंकमा पुग्दा अन्य र सामुहिक लगानी कोष समूहहरुको सूचक पनि बढेका छन् ।

वाणिज्य बैंक समूहको सूचक भने ६ दशमलव नौ अंकले घटेर १९ सय १६ दशमलव १५ अंकमा निर्जिवन बिमा समूहको सूचक पनि एक सय १९ दशमलव ७९ अंकले घटेर १४ हजार १६ दशमलव ६९ अंकमा झरेको छ । जीवन बिमा समूहको सूचक पनि ४४ दशमलव ९९ अंकले घटेर १७ हजार ९० दशमलव ४६ अंकमा झरेकामा जलविद्युत्, विकास बैंक, फाइनान्स, ट्रेडिङ, अन्य, लघुवित्त र लगानी समूहहरुको सूचक पनि घटेका छन् ।

आज गुडबिल फाइनान्सको डिबेन्चर २०८३ को प्रतियुनिट सेयर मूल्य १० प्रतिशतले बढेर ११ सय ५५ रुपैयाँमा कारोबार हुँदा माछापुच्छ्रे बैंकको ऋणपत्र २०८५ को प्रतियुनिट सेयर मूल्य पाँच रुपैयाँ ३८ पैसाले घटेर एक हजार ५६ रुपैयाँमा कारोबार भएको छ । यसैगरी आज नेपाल इन्स्योरेन्स कम्पनीको प्रतिकित्ता ११ सय २८ रुपैयाँ अन्तिम मूल्यमा २१ करोड ५६ लाख ४७ हजार ३७ रुपैयाँको कारोबार भएको छ । यो आज भएका कम्पनीहरुको कारोबार मध्ये सबैभन्दा बढी हो ।