ज्योति विकास बैंक र नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघबीच सहकार्य हुने भएको छ। महासंघमा आबद्ध व्यवसायी र त्यस्ता संस्थामा कार्यरत कालिगढ एवं कर्मचारीलाई बिना धितो सहुलियतपूर्ण कर्जा र विशेष छुटमा प्रोफेसनल लोन उपलब्ध गराउने सम्बन्धमा दुई पक्षबीच सम्झौता भएको हो।
आइतबार एक कार्यक्रमबीच ज्योति विकास बैंकका तर्फबाट बैंकका नायब प्रमुख कार्यकारी अधिकृत पारसराज कँडेल र नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघका तर्फबाट महासंघका अध्यक्ष रमेश महर्जनले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन्।
सम्झौताअनुसार बैंकले नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघमा आबद्ध व्यवसायी तथा त्यस्ता संस्थामा कार्यरत कालिगढ एवं कर्मचारीलाई विशेष छुटमा प्रोफेसनल लोन र १५ लाख रुपैयाँसम्मको बिनाधितो सहुलियतपूर्ण कर्जा उपलब्ध गराउनेछ।
यस सम्झौतापश्चात् नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघमा आबद्ध व्यवसायी र त्यस्ता संस्थामा कार्यरत कालिगढ एवं कर्मचारीलाई ज्योति विकास बैंकको कर्जा सेवाले थप सहजता प्रदान गर्नेछ।
बैंकले हाल १०५ शाखा कार्यालय, १ एक्सटेन्सन काउन्टर तथा ६१ एटीएममार्फत सेवा उपलब्ध गराउँदै आएको छ।