असार २१, २०७८ सोमबार

 काठमाण्डौ।  आगामी भाद्र १३ देखि २० गते सम्म फिलिपिन्सको सान फेर्यनन्डो सहरमा आयोजना हुन गईरहेको २१ औं संस्करणको एसियन सिनियर महिला भलिबल च्याम्पियनसिपमा सहभागीता जनाउने हेतु नेपाली महिला भलिबल टिमको बन्द प्रशिक्षण गत असार १ गतेबाट त्रिपुरेश्वरमा जारी रहेको छ।

मनविर छन्त्यालको संयोजकत्वमा रहेको छनोट समितीको सिफारिसमा नेपाल भलिबल संघले शनिबार मात्र दोस्रो चरणको प्रशिक्षणका लागि १८ सदस्यको छनोट गरेकोमा केही दिनमा नै अन्तिम १४ सदस्यको पनि छनोट हुने संघले बताएको छ ।

अन्तिम १८ सदस्यिय नेपाली टिम 

मनिषा चौधरी, कविता भट्ट,उषा विष्ट, सोफिया पुन, सुनिता खड्का, रेश्मा भण्डारी, लक्ष्मी चन्द, रिया कुँवर, अरुणा शाही, कृपा अधिकारी, जानकी भण्डारी, प्रतिभा माली, शान्ति थारु, उषा भण्डारी, निरुता ठगुन्ना, सरस्वती चौधरी, सरस्वती जैशी, सलिना श्रेष्ठ

केही नया र केही पुराना अनुहारका बिच दोस्रो चरणको प्रशिक्षण पनि जारी रहेको छ। 

यस प्रतियोगितामा पहिलो पटक सहभागीता जनाउन लागेको नेपालसॅंगै यस प्रतियोगितामा १२ राष्ट्र सहभागी रहेका छन्। 

यस संस्करणको प्रतियोगितामा निम्म टिमहरु समावेश रहनेछन्

फिलिपिन्स, जापान, थाइल्याण्ड, कोरिया, काजकिस्तान, ताईवान, इरान, अष्ट्रेलिया, भारत, नेपाल, उज्वेकिस्तान र हङकङ


सन् १९७५ अस्ट्रेलियाको मेलबर्नमा सुरु यस च्याम्पियनसिपको पहिलो च्याम्पियन टोली जापान रहेकोमा सर्वाधिक उपाधी बिजेता टोलीमा भने छिमेकी मुलुक चीन रहेकोछ उसले २० औं संस्करण पुरा गर्दा सम्म १३ पटक उपाधी चुमेको छ। 

सन् २०१९ मा पछिल्लो संस्करण दक्षिण कोरियाको सोलमा आयोजना भएकोमा थाईल्याण्डलाई ३-१को सेटमा पराजित गरि जापान बिजेता बनेको थियो। 

यस प्रतियोगिता सर्वाधिक ५ पटक थाईल्याण्डले आयोजना गरेकोमा आगामी २१ औं संस्करणको आयोजना गर्न लागेको फिलिपिन्सको भने यो तेस्रो आयोजना हो। 

यस प्रतियोगिताको ईतिहासमा २०१९ को संस्करण सम्ममा २४ वटा राष्ट्रले सहभागीता जनाए पनि ३ राष्ट्रले मात्र उपाधी जित्न सफल भएका छन्। 

यस संस्करणको प्रतियोगिता चीनमा आयोजना गर्ने भनिए पनि चीनले आयोजना गर्न अस्वीकार गरेपछि फिलिपिन्समा सारिएको हो ।