एजेन्सी । इटालीयन सिरी ए फुटबल क्लब युभेन्टसका पोर्चुगिज स्ट्राइकर क्रिस्टियानो रोनाल्डोले युभेन्टससँग सम्झौता थप्ने भएका छन् । इटालियन मिडियाहरूका अनुसार ३६ वर्षीय रोनाल्डोले थप एक सिजन युभेन्टससँग सम्झौता लम्ब्याउने योजना बनाएको बताएका छन् ।
रोनाल्डो र युभेन्टसबीचको सम्झौता सन् २०२२ सम्मको छ । रोनाल्डो पछिल्लो समय पूर्वक्लबद्वय म्यानचेस्टर युनाइटेड तथा स्पोर्टिङ सिपी फर्किने चर्चा चलिरहेको छ । तर सन् २०१८ मा रियल मड्रिडको लामो समयको बसाइ अन्त्य गर्दै इटालीको टुरिनमा आएका रोनाल्डोले भने युभेन्टससँग २०२३ सम्म सम्झौता थप्न लागेको जनाइएको छ ।
यसै साताभित्रमा रोनाल्डो र युभेन्टसबीचको नयाँ सहमति बन्ने पनि बताएको छ । यसका लागि रोनाल्डोका एजेन्ट जर्ज मेन्डेस टुरिन भ्रमण गर्न लागेका छन् । हाल ३६ वर्ष पुगेका रोनाल्डोलाई उत्कृष्ट प्रदर्शन गर्नका लागि उमेरले छेकेको अवस्था छैन । उनले क्लब र राष्ट्र दुवैतिर आफ्नो उत्कृष्टता प्रदर्शन गर्दैआएका छन् । अघिल्लो सिजनले उनले २९ गोल गर्दै सिरी ‘ए’को गोल्डेन बुट जितेका थिए । उता युरो कप २०२० मा पाँच गोल गरेका उनी गोल्डेन बुटकै दौडमा छन् ।