असार २२, २०७८ मंगलबार

एजेन्सी । १६औं संस्करणको युरो कप २०२० फुटबल प्रतियोगितामा आजबाट सेमिफाइनलका खेलहरु सुरु हुदैछ ।  

आज हुने खेलमा उपाधि मुख्य दाबेदार टोली इटाली र स्पेन प्रतिस्पर्धा रहेका छन् । नेपाली समयअनुसार यी दुई टोलीबीचको खेल राति १२:४५ बजेबाट हुनेछ । उक्त खेल इंग्ल्याण्डस्थित वेम्ब्लसी स्टेडियममा हुनेछ । 

आजको पहिलो सेमिफाइनल खेलमा दुवै टोली एक–अर्कामाथि जित निकाल्दै फाइनलमा पुग्ने योजनामा हुनेछन् । इटाली र स्पेनबीचको विजेता टिमले उपाधिका लागि इंग्ल्याण्ड र डेनमार्कबीचको विजेता टोलीसँग खेल्ने छ । इंग्ल्याण्डर डेनमार्कले बुधबार राति दोस्रो सेमिफाइनल खेल खेल्दै छन् । 

स्पेनले हालसम्म ३ पटकको यस प्रतियोगिताको उपाधि जितेको छ । उसले सन् १९७२, २००८ र २०१२ मा उपाधि जितेको हो । सन् २०१२ मा उपाधि जित्दा स्पेनले इटालीलाई नै ४–० गोलले हराएको थियो । आज त्यसैको बदला लिने दाउमा इटाली रहनेछ । स्पेनले क्वार्टरफाइनलमा स्विट्जरल्यान्डलाई पेनाल्टी सुटआउटमा ३–१ गोलले पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएको हो । 

यता, इटालीले पनि एक पटक उपाधि जितेको छ । उसले सन् १९६८ मा आफ्नै मैदानमा भएको युरो कपको उपाधि जितेको थियो । इटालीले फिफा वरीयताको शीर्ष टिम बेल्जियमलाई हराउँदै सेमिफाइनलमा स्थान बनाएको हो । 

इटाली र स्पेनबीच हालसम्म ३३ खेलमा प्रतिस्पर्धा भएको छ । जसमा स्पेनले १२ खेल जित निकालेको छ भने १२ खेल बराबरीमा सकिँदा ९ खेल इटाली विजयी भएको छ । युरोपियन च्याम्पियनसिपमा दुई टिमबीच सातौं पटक प्रतिस्पर्धा हुन लागेको हो ।

त्यस्तै २०१६ को युरो कप फुटबल प्रतियोगितामा अन्तिम १६ को खेलमा इटालीले स्पेनलाई २-० गोल अन्तरले हराउँदै अन्तिम ८ मा स्थान बनाएको थियो । आज पनि इटाली त्यही लय दोह्रोर्याउने दाउमा रहेको छ । दुबै टोली जारी युरो कपमा अपराजित रहेका छन् । त्यसैले पनि आजको खेल निकै रोमाञ्चक हुने अनुमान गरिएको छ ।