एजेन्सी । ब्राजिलमा जारी ४७औं संस्करणको दक्षिण अमेरिकी फुटबल प्रतियोगिता कोपा अमेरिकाको दोस्रो सेमिफाइनल खेलमा भोलि बिहान नेपाली समयअनुसार ६ः४५ बजे हुने उक्त खेलमा अर्जेन्टिना र कोलम्बियाले खेल्दै छन् ।
ब्राजिलमा हुने उक्त खेलमा दुवै टिम एक–अर्कामाथि जित निकाल्दै फाइनल पुग्ने दाउमा हुनेछन् । अर्जेन्टिना र कोलम्बियाको विजेता टोलीले उपाधिका लागि ब्राजिलसँग खेल्ने छन् । ब्राजिल मङ्गलबार बिहान भएको पहिलो सेमिफाइनलमा पेरुमाथि १–० गोलको जित निकाल्दै उपाधि नजिक पुगिसकेको छ ।
यसअघि अर्जेन्टिनाले इक्वाडरमाथि ३–० गोलको जित निकालेको थियो । यता, कोलम्बिया भने उरुग्वेमाथि पेनाल्टी सुटआउटमा ४–२ गोलको जित निकाल्दै सेमिफाइनलमा स्थान बनाएको हो । अर्जेन्टिना १४ पटकको उपाधि विजेता हो । तर उसले सन् १९९३ यता उपाधि जित्न सकेको छैन । कोलम्बियाले भने एकपटक २००१ मा उपाधि जितेको छ ।