असार २२, २०७८ बुधबार

एजेन्सी । युरोपका विभिन्न ११ शहरमा वारि १६औं संस्करणको युरो कप फुटबल प्रतियोगिता २०२० अन्तर्गत पहिलो सेमिफाइनलको खेलको इटाली विजयी भएको छ ।

बुधबार बिहान इंग्ल्याण्डस्थित वेम्ब्लसी स्टेडियममा सम्पन्न भएको खेलमा स्पेनलाई पेनाल्टी सुटआउटमा ४-२ गोल अन्तरले पराजित गर्दै इटाली फाइनल प्रवेश गरेको हो ।

निर्धारित ९० मिनेटको खेल १-१ गोलको बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो । उक्त समयमा पनि दुबै टोलीबाट गोल नहुदा खेल पेनाल्टी सुटआउटमा गएको हो ।

पेनाल्टीमा इटालीका आन्द्रे बेलोट्टी, लियोनार्दो बुनिची, फेडेरिको र जोर्गिन्होले गोल गरे । म्यानुएल लोकाटेलीले गोल गर्न सकेनन् ।

यता स्पेनका मोरेनो जेरार्ड र थियागो अल्कान्टाराले गोल गरे । तर, डानिल ओल्मो र अल्भारो मोराटाले गोल गर्न सकेनन् ।

त्यसअघि निकै प्रतिस्पर्धात्मक बनेको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । तर दोस्रो हाफको खेलको ६० औं मिनेटमा फेड्रिको चिएजा गोल गर्दै इटालीलाई सुरुवाती अग्रता दिलाएका थिए । काउन्टरमा स्पेनिस डिफेन्डरले क्लियर गर्न नसकेको बल नियन्त्रणमा लिदै उनले उत्कृष्ट गोल गरे ।

तर,उक्त अग्रता इटालीले करिब २० मिनेट मात्रै जोगाउन सक्यो, खेलको ८० औं मिनेटमा वैकल्पिक खेलाडी रुपमा मैदान प्रवेश गरेका अल्भारो मोराटाले गोल गर्दै स्पेनलाई १-१ गोलको बराबरीमा फर्काए । फेरान टोरेसको स्थानमा ६२ औं मिनेटमा मैदान छिरेका उनले डानिल ओल्मोको पासमा गोल गरेका हुन् ।

उक्त जित सँगै इटालीले अब उपाधिका लागि इंग्ल्याण्ड र डेनमार्कबीचको विजेता सँग उपाधि भिडन्त गर्नेछ ।