फागुन १८, २०८० शुक्रबार

काठमाडौँ, १८ फागुन : कवि सुशीला खड्का ‘हसिना’द्वारा लिखित कविता सङ्ग्रह ‘पहिरोभित्रको घाम’ लोकार्पण गरिएको छ । आज यहाँ आयोजित कार्यक्रममा नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति भूपाल राईले उक्त कविता सङ्ग्रहको विमोचन गर्नुभएको हो ।

    कुलपति राईले कविताले नकारात्मक धारणालाई चिरफार तथा असल संस्कारको निर्माण गर्ने बताउनुभयो । सो कविता सङ्ग्रहले मुलुकलाई सुशानको दिशामा अग्रसर गराउन सकेमा प्रकाशनको औचित्य पुष्टि हुने बताउनुभयो ।

    कवि खड्काले पहिरोभित्रको घाममार्फत वर्तमान समाजमा व्याप्त दूषित मानसिकता र मानिसप्रति दर्शाएको अमानुषिक व्यवहारलाई कविताका माध्यमबाट चित्रण गरेको बताउनुभयो । उहाँले मानवीय संवेदना ज्यादै निम्नस्तरमा खस्केका कारणले जाति, धर्म, भाषाका आधारमा एकअर्कालाई होच्याउने तथा दुव्र्यवहार गरेको आजको समाजको दरिद्र अवस्थालाई देखाउन खोजेको जानकारी दिनुभयो ।

    साहित्यकार तथा समालोचक महेश पौडेलले आधुनिक युगका कविता आविष्कारभन्दा प्रतिक्रियात्मक भावका हुने गरेको पाइएको बताउनुभयो । उहाँले ‘पहिरोभित्रको घाम’ कवितासङ्ग्रहमा प्रकृति, प्रेम, राजनीति र देशप्रतिको चिन्तन भरिएको बताउनुभयो ।

    कार्यक्रममा साहित्यकार भुवनहरि सिग्देल, वरिष्ठ गीतकार तथा साहित्यकार राजेन्द्र थापा, वरिष्ठ छन्द कवि तथा साहित्यकार एवं पाठशाला नेपाल फाउन्डेसनका संस्थापक डा रामप्रसाद ज्ञवाली र सांस्कृतिक संस्थानका पूर्वमहाप्रबन्धक राजेश थापालगायतको उपस्थिति थियो ।