असार २३, २०७८ बुधबार

एजेन्सी । ४७औं संस्करणको दक्षिण अमेरिकी फुटबल प्रतियोगिता कोपा अमेरिकामा अर्जेन्टिना फाइनलमा प्रवेश गरेको छ । 

बुधबार बिहान सम्पन्न भएको सेमिफाइनलको खेलमा कोलम्बियालाई पेनाल्टी सुटआउटमा ३-२ ले पराजित गर्दै अर्जेन्टिना फाइनलमा पुगेको हो ।

निर्धारित ९० मिनेटको खेल १-१ गोलको बराबरीमा सकिएकाे थियाे । निर्धारित समय सकिएपछि खेल सिधै पेनाल्टी सुटआउटमा लगिएकाे थियाे ।

पेनाल्टी सुटआउटमा अर्जेन्टिनाका लागि गोलरक्षक इमिलियानो मार्टिनेज नायक बने । उनले कोलम्बियाको ३ वटा प्रहार बचाए ।

गोलरक्षक इमिलियानोले डाभिन्सन सान्चेज, यारी मिना र इडविन कोर्डोनाको प्रहार बचाएका थिए । कोलम्बियाको लागि जुआन कोर्डाडोले र मिगुइल बोर्जा गोल गरेका थिए ।

टाइब्रेकरमा अर्जेन्टिनाको लागि कप्तान मेस्सी, लोउटारो मार्टिनेज र लियान्द्रो ड्यानियल पारेडेसले गोल गरे । रोड्रिगो डि पउलको प्रहार भने आकासिएको थियो ।

त्यसअघि खेलको ६औं मिनेटमा लोउटारो मार्टिनेजले गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाएका थिए । उनले कप्तान लियोनेल मेस्सीले पेनाल्टी बक्सबाट दिएका पासमा गोल गरेका थिए ।

पहिलो हाफमा १-० गोलले पछि परेको कोलम्बियाले दोस्रो हाफको खेलको ६२औं मिनेटमा बराबरी गोल फर्कायो । उसका लागि लुइस डियाजले इडविन कार्डाना पासमा गोल गर्दै खेल १-१ को बराबरी बनाएका थिए ।

अब उक्त जित सँगै फाइनलमा अर्जेन्टिनाले ब्राजिलसँग खेल्नेछ ।  खेलको ११ जुलाईमा हुने छ । साविकको विजेता ब्राजिलले मंगलबार बिहान पेरुलाई १-० ले हराउँदै फाइनलमा स्थान सुरक्षित गरिसकेको छ ।

कोलम्बिया र पेरुले तेस्रो स्थानका लागि प्रतिस्पर्धा गर्नेछ ।