काठमाडौँ, २१ फागुनः नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक भोलि फागुन २२ गते दिउँसो ३ बजे बस्ने भएको छ ।
पार्टी सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको निजी निवास, बूढानीलकण्ठमा बस्ने बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल हुने कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।
बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यको उपस्थितिका लागि अनुरोध गरिएको छ ।
काठमाडौँ, २१ फागुनः प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको वर्तमान सरकार आज पुनःगठन हुने भएको छ । प्रधानमन्त्री दाहालको सिफारिसमा आजै नयाँ मन्त्रीहरुले सपथ लिने कार्यक्रम रहेको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिनुभयो ।
उहाँका अनुसार नयाँ मन्त्रीहरुको सपथ आज साँझ ५ बजे राष्ट्रपति कार्यालय शीतल निवासमा हुने छ । आज सपथ लिने मन्त्रीहरुमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का डोलप्रसाद अर्याल, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का हितबहादुर तामाङ र नेपाल कम्युनिष्ट पार्टी (एमाले)का पदम गिरी रहनुभएको बताइएको छ । उहाँहरुको मन्त्रालय भने तोकिएको छैन ।