एजेन्सी । १६ औं संस्करणको युरो कप फुटबल प्रतियोगिता २०२० अन्तर्गत अन्तिम सेमिफाइनलमा डेनमार्कलाई अतिरिक्त समयमा २-१ गोल अन्तरले हराउँदै इंग्ल्याण्ड फाइनलमा प्रवेश गरेको छ ।
निर्धारित ९० मिनेटको खेल दुबै टोलीबाट १-१ गोलको बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो । अतिरिक्त समयको १०४औं मिनेटमा इंग्ल्याण्डले पेनाल्टीको अवसर पाएको थियो । उक्त पेनाल्टीमा कप्तान केन चुके पनि रिबाउन्ड भएर आएको बलमा पुनः केनले गोल गर्दै इंग्ल्याण्डको जित पक्का गरे । महेलले स्टर्लिङलाई पेनाल्टी क्षेत्रभित्र लडाएपछि रेफ्रीले पेनाल्टी दिएका थिए ।
त्यसअघि खेलको ३०औं मिनेटमा डेनमार्कका माइकल डाम्सगार्डकै गोलमा डेनमार्कले अग्रता लियो । उनले झन्डै २५ यार्ड टाढाबाट प्राप्त फ्रिकिकलाई सुन्दर गोलमा परिणत गर्दै टोलीलाई अघि बढाएका थिए ।
खेलमा १-० गोलले पछि परेको इंग्ल्याण्डले खेलको ३९औं मिनेटमा इंग्ल्यान्ड बराबरी गोल फर्काउन सफल भयो । केनले अफसाइड ट्रयाप बिट गर्दै पेनाल्टी क्षेत्रभित्र बुकायो साकालाई खेलाएपछि उनको क्रसमा गोल भएको थियो । साकाको क्रस स्टर्लिङलाई लक्षित रहेपनि कप्तान सिमोन केयरले त्यसअघि नै ट्याकल गर्ने क्रममा बल आफ्नै पोस्टमा छिरेको थियो ।
उक्त जित सँगै इंग्ल्यान्ड इतिहासमै पहिलो पटक युरोपेली च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ । इंग्ल्याण्डले फाइनलमा अब उपाधिको लागि इटालीको सामना गर्नेछ इटालीले बिहिवार बिहान सम्पन्न पहिलो सेमिफाइनलको खेलमा स्पेनलाई पेनाल्टी सुटआउटमा ४-२ गोल अन्तरले पराजित गर्दै फाइनल प्रवेश गरेको छ ।