काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले वेदको रचना सबैभन्दा पहिले भएको भन्दै नेपालीले आफ्नौ गौरवपूर्ण इतिहासलाई संरक्षण सम्बर्द्धन गर्दै नयाँ आविष्कारमा लाग्नुपर्नेमा जोड दिएका छन्।
प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा विहीबार नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट)ले गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले पूर्वजहरूले कैयौं परम्परागत ज्ञान दिएर छाडेकाले त्यसलाई अनुशरण गर्दै अघि बढ्नुपर्ने बताएका हुन् ।
मानवीय श्रेष्ठताको सबैभन्दा ठूलो कुरा पुर्खाको ज्ञानलाई स्वीकार गर्दै नयाँ आविष्कार गर्दै जानुपर्नेमा उनले जोड दिए । अनुकूल हावापानी र विविधि भौगोलिक अवस्था भएका कारण हिमाली, पहाडी र तराईको हावापानीअनुसारका वस्तु उत्पादन गर्न सकिने समेत उनले बताएका छन् ।
सार्वजनिक कार्यक्रममा अक्सर सरकार विरोधी विपक्षी मोर्चामा संलग्न नेता तथा तिनका क्रियाकलापको साथै आफ्नै पार्टीका नेताहरुको तिखो आलोचना गर्ने गरेका प्रधानमन्त्री ओली विहीबारको कार्यक्रममा भने जडिबुटीको उपयोगिता, नयाँ आविष्कार तथा पराम्परागत औषधिहरूबारे चर्चा गरे । उनले पूर्वजहरूको पालामा नेपाली समाजमा महिलालाई सम्मान गर्ने संस्कार रहेको उल्लेख गर्दै त्यस्तै समानताको समाज निर्माणमा सरकार लागेको स्पष्ट पारे । कार्यक्रममा विज्ञान तथा प्रविधिका क्षेत्रमा योगदान पुर्याएका विभिन्न व्यक्ति तथा संस्थाहरूलाई पुरस्कृत गरिएको थियो ।