असार २५, २०७८ शुक्रबार

मौसमविद्का अनुसार यस वर्ष मनसुनको पूरै अवधि वर्षामय हुने अनुमान गरिएको छ । मनसुन सुरु भएदेखि ‘मनसुन ब्रेक’ नभएकाले यस वर्षको मनसुनी वर्षाले लगातार तीन महिनासम्म नै आफ्नो प्रभाव जमाउन सक्ने मौसमविद्हरूको अनुमान छ ।

मनसुन सुरु भएको केही समयपछि मनसुनी वर्षा ब्रेक हुनुपर्ने भए पनि यस वर्ष त्यो नदेखिएको मौसमविद् शान्ति कँडेलको भनाइ छ । यस वर्ष मनसुन ‘ब्रेक नभई’ नै दोस्रो महिनाको उकालो चढिसकेको कँडेल बताउँछिन् ।
विगतका वर्षमा हप्ता वा पन्ध्र दिनको आसपासमा मनसुन ब्रेक हुने गरेको थियो । यस वर्ष एक महिनासम्म पनि वर्षा रोकिएको छैन । मौसमविद्ले भनेजस्तै एकाध घण्टा घाम झुल्किए पनि मौसममा सुधार भएर चकमन्न घाम नलागेको एक महिना बढी भइसकेको छ ।

यस्तै मौसमविद् मीनकुमार अर्यालका अनुसार मौसम पूरै खुल्नेभन्दा पनि शुक्रबारदेखि हल्कादेखि मध्यम वर्षाको अवस्थामा परिणत हुनेछ । हल्का सुधार त देखिन्छ तर वर्षा नै रोकिने सम्भावना कम छ ।