असार २५, २०७८ शुक्रबार

एजेन्सी । १६औं संस्करणको युरो कप फुटबल प्रतियोगिताको फाइनल खेल नेदरल्यान्ड्सका रेफ्री जोर्न कुइपर्सले खेलाउने भएका छन् । 

आगामी आइतबार हुन लागेको इंग्ल्याण्ड र इटालीबीचको फाइनल खेल कुइपर्सले खेलाउने युरोपियन फुटबल महासङ्घ (युइएफए)ले जानकारी दिएको छ ।

युरो कप फुटबल प्रतियोगिताको फाइनलमा रेफ्री हुने उनी पहिलो डच रेफ्री हुनेछन् । कुइपर्सले यसअघि पनि इंग्ल्याण्ड र इटालीबीचको खेलमा रेफ्रीको भूमिकामा रहिसकेका छन् । 

सन् २०१४ को विश्वकप फुटबलमा समूह चरणमा यी दुई राष्ट्रले प्रतिस्पर्धा गर्दा कुइपर्सले रेफ्रीको भूमिका निभाएका थिए । ४८ वर्षीय कुइपर्स युरो कप फुटबल २०२० मा  र इंग्ल्याण्ड क्रोएशियाबीचको खेलमा चौथो अधिकारीको भूमिकामा थिए । 

इंग्ल्याण्ड र इटालीबीचको फाइनल खेल लन्डनस्थित वेम्ब्ली स्टेडियममा नेपाली समयअनुसार आइतबार राति १२ः४५ बजे हुनेछ । जसमा इटाली दोस्रो उपाधि जित्ने दौडमा हुनेछ भने इंग्ल्याण्ड पहिलो । 

यसअघि इटालीले सन् १९६८ मा घरेलु मैदानमा भएको युरो कपको उपाधि जितेको थियो । उसले युगोस्लाभियालाई फाइनलमा रोक्दै उपाधि जितेको थियो । 

सोही संस्करणमा इंग्ल्याण्ड तेस्रो स्थानमा सीमित बनेको थियो । इंग्ल्याण्ड युरो कपको इतिहासमा पहिलो पटक फाइनल पुगेको हो ।