चैत १४, २०८० बुधबार

काठमाडौं– काठमाडौं उपत्यकामा १२ जनामा कोभिड १९ पुष्टि भएको छ ।  

मौसमी फ्लु भनी अनुमान गरिएका उनीहरू उपचारका लागि त्रिवि शिक्षण अस्पताल र शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा पुगे थिए । तर परीक्षण गर्दा उनीहरूमा कोभिड पुष्टि भएको हो । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका अनुसार मंगलबारसम्म ८ जनामा कोभिड -१९ पुष्टि भएको छ । 

पुष्टि भएका सबैलाई अस्पतालको आइसीयु तथा हाइडिपेन्डेन्सी युनिटमा राखेर उपचार गरिएको छ । जसमध्ये दुईजना डिस्चार्ज भएका छन् । संक्रमित ६ जनाको उपचार भइरहेको शुक्रराज ट्रपिकल अस्पतालका निर्देशक डा. युवानिधि बसौलाले बताए । 

यस्तै त्रिवि शिक्षण अस्पतालको आकस्मिक कक्षमा उपचारका लागि पुगेका बिरामीमध्ये चार जनामा कोभिड पुष्टि भएको अस्पतालले जनाएको छ ।  सोमबार परीक्षण गरिएका ९ वटा नमुनामध्ये चारवटामा कोभिड संक्रमण पाइएको हो । 

कोभिड पुष्टि भएका सबैलाई भर्ना गरिएको आकस्मिक कक्षका प्रमुख डा. रमेश महर्जनले जानकारी दिएका छन् ।