बजारमा प्रायः सबै खालका तरकारीको भाउ ह्वात्तै बढेको छ । अघिल्ला दुई साता प्रतिकिलो औसत मूल्य ३० देखि ३५ रुपियाँमा थोकमा किनबेच भएको आलु अहिले थोकमै ५० देखि ५५ रुपियाँ पुगेको छ ।
१५ दिन अगाडिसम्म प्रतिकेजी २०देखि २५ रुपियाँसम्ममा पाइने ठूूलो गोलभेँडा थोकमै ७० रुपियाँसम्म पुगेको छ । यस्तै बन्दा, बोडी, भन्टा लाम्चो, घिउ सिमी, तितेकरेला, लौका, परबर, लौका, घिरौँला, भिण्डीलगायत सम्पूर्ण हरियो सागपातको पनि यसैगरी भाउ बढेको छ । खुद्रामा त तरकारीको भाउ झन् छोइनसक्नु भएको छ । लगातारको वर्षाले सडक अवरुद्ध हुँदा किसानबाट खरिद गरेका तरकारी बाटामै कुहिएका छन्, जसको असर बजारमा परेको व्यापारी बताउँछन् ।
कालीमाटी तरकारी व्यवसायी संस्थाका अध्यक्ष गीताप्रसाद आचार्यले मुग्लिङ–नारायणगढ सडक सहज नहुँदासम्म तरकारी भाउ सामान्य हुने अवस्था नरहेको बताए ।
निषेधाज्ञा खुलेपछि बाढी र पहिराका कारण बजारमा ल्याउन तयारी भएको धेरै तरकारी नोक्सानी भएकाले पनि भाउ महँगो भएको हुनसक्ने कालीमाटी बजारका अर्का तरकारी व्यापारी विकास बस्नेतले बताए।
उत्पादन र आयात दुवैमा कमी
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार तरकारीको मागअनुसार सहज आपूर्ति नभएकाले पनि भाउ महँगो भएको छ । कालीमाटी फलफूल तथा तरकारी बजार व्यवस्थापन समितिका अनुसार कालीमाटीमा सामान्य अवस्था दैनिक नौ सयदेखि एक हजार मेट्रिक टन तरकारी आपूर्ति हुने गरेकामा अहिले छ सय मेट्रिक टनको हाराहारीमा मात्रै तरकारी भित्रिने गरेको छ ।
तरकारी अनुुगमनको तयारी
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले तरकारी आपूर्तिमा समस्या भएर हो वा अन्य कारणले महँगो भएको हो भन्ने विषयमा अनुुगमन गरिने जनाएको छ । विभागका निर्देशक शिवराज सेढाईंले तरकारी महँगो भएको गुनासो आउने क्रम बढेकाले आइतबार सोमबार नै तरकारीको मूल्य अनुुगमन गरिने जानकारी दिए ।